अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा बैठक

एमाले सांसद पोर्तेलको कटाक्ष: ‘चन्द्रमाबाट नेपालको ग्यासको लाइन देखिन थाल्यो’

एमाले सांसद पोर्तेलको कटाक्ष: ‘चन्द्रमाबाट नेपालको ग्यासको लाइन देखिन थाल्यो’


काठमाडौंनेकपा एमालेका राष्ट्रिय सभा सदस्य सोमनाथ पोर्तेलले वर्तमान सरकारको कार्यशैली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भूमिकामाथि संसद्मा कडा टिप्पणी गरेका छन्।

बुधबार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद पोर्तेलले सरकारका कारण जनताले सास्ती भोग्नुपरेको र मुलुकका आर्थिक सूचकाङ्कहरू निरन्तर ओरालो लागिरहेको दाबी गरे।

सांसद पोर्तेलले वर्तमान परिस्थितिमा नागरिकले दैनिक उपभोग्य वस्तुसमेत सहज रूपमा प्राप्त गर्न नसकेको आरोप लगाए।

रास्वपामाथि व्यङ्ग्य गर्दै सांसद पोर्तेलले यसको उदयलाई चर्चित हिन्दी गीत ‘उपरवाला जब भी देता, देता छप्पर फाड के’ सँग तुलना गरे। सांसद पोर्तेलले आफूलाई बोल्न १५ मिनेट समय दिइएको प्रसङ्ग जोड्दै रास्वपाले निर्वाचनका बेला ठूलो आश्वासन दिए पनि अपेक्षित परिणाम दिन नसकेको टिप्पणी गरे। ‘उहाँहरूले धेरै काम गर्ने प्रतिबद्धता जनाउनुभएको थियो, तर जनताले मूल्याङ्कन गर्दा ‘डी’ ग्रेड मात्र दिएका छन्,’ उनले भने।

सांसद पोर्तेलले मुलुकमा ग्यासको अभाव चुलिएको दाबी गर्दै नागरिकहरूलाई दाउरा र वैकल्पिक उपायमा निर्भर हुनुपर्ने अवस्था आएको बताए। सरकारले इन्डक्सन चुलोको प्रचार गरे पनि विद्युत् आपूर्तिको भरपर्दो व्यवस्था गर्न नसकेको उनको आरोप थियो।

भाषणका क्रममा उनले ग्यास अभावको अवस्थामाथि कटाक्ष गर्दै भने, ‘पहिले चन्द्रमाबाट चीनको ग्रेट वाल देखिन्थ्यो रे, अहिले त नेपालको ग्यासको लाइन पनि देखिन थाल्यो रे।’

उनको अभिव्यक्तिपछि राष्ट्रिय सभामा केहीबेर हल्का हाँसो र टिप्पणीसमेत सुनिएको थियो।