अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुखको रुलिङपछि संसदमा जवाफ दिन जाने तयारीमा प्रधानमन्त्री बालेन

सभामुखको रुलिङपछि संसदमा जवाफ दिन जाने तयारीमा प्रधानमन्त्री बालेन


काठमाडौं-लामो समयदेखि प्रतिनिधिसभा बैठकमा अनुपस्थित रहँदै आएका प्रधानमन्त्री वालेन्द्र शाह आगामी भदौ १० गते संसदमा उपस्थित हुने भएका छन्।

सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर सांसदका प्रश्नको जवाफ दिन रुलिङ गरेपछि प्रधानमन्त्री शाह भदौ १० गते बस्ने प्रतिनिधिसभा बैठकमा सहभागी हुने तयारीमा छन् ।

प्रधानमन्त्री बनेपछि प्रतिनिधिसभामा अपेक्षित उपस्थिति नजनाएको तथा नेपाल–भारतको भूमिसम्बन्धी विवादित अभिव्यक्तिबारे सदनमा स्पष्ट जवाफ नदिएको भन्दै विपक्षी दलहरूले निरन्तर प्रश्न उठाउँदै आएका छन् ।

प्रधानमन्त्री शाहले यसअघि जेठ १७ गते प्रतिनिधिसभामा उपस्थित भएर सम्बोधन गरेका थिए । उक्त सम्बोधनका क्रममा उनले नेपालले भारतको भूमि मिचेको भन्ने विवादित अभिव्यक्ति दिएका थिए ।

त्यसपछि असार ३० गते पार्टी सभापति रवि लामिछानेसँगै प्रधानमन्त्री शाह संसद् भवन पुगेका थिए । तर, उनी करिब २० मिनेट बसेर बाहिरिएका थिए । उक्त दिन पनि उनले सदनमा सम्बोधन गरेनन् ।

सभामुख अर्यालले यसअघि पटक–पटक प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बैठकमा उपस्थित हुन आग्रह गर्दै आएका थिए । आग्रहको कार्यान्वयन नभएपछि सभामुखले मंगलबार औपचारिक रूपमा प्रधानमन्त्रीलाई सदनमा उपस्थित हुन रुलिङ गरेका हुन् ।

अब प्रधानमन्त्री शाहले भदौ १० गते प्रतिनिधिसभा बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने तयारी गरेका छन् ।