अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै


विराटनगर-कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिव सुदर्शन खड्काले जानकारी दिएका छन्। विश्वासको मतका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको उनले बताए।

एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच भएको तीनबुँदे सहमतिअनुसार गत सोमबार नयाँ मन्त्रीहरूले शपथ लिएका थिए। त्यसअघि नेपाली कांग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको थियो। कांग्रेसले २०८३ भदौ ३ गते नै समर्थन फिर्ता लिएको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो।

२०८३ साउन ९ गते एमाले र नेकपाबीच कोशी प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति भएको थियो। सोही राजनीतिक समीकरणअनुसार मुख्यमन्त्री कार्कीले पुनः विश्वासको मत लिन लागेका हुन्।

संविधानको धारा १६८ को उपधारा (५) अनुसार २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले वैशाख ३१ गते पहिलो पटक विश्वासको मत लिएका थिए। त्यसबेला प्रदेशसभा बैठकमा उपस्थित ६२ सांसदमध्ये ५७ जनाले उनको पक्षमा मतदान गरेका थिए भने ५ जना तटस्थ बसेका थिए।

पहिलो पटक कार्कीलाई एमालेका उपसभामुखसहित ४०, तत्कालीन माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी)का ३ र जनता समाजवादी पार्टी (जसपा) नेपालका १ प्रदेशसभा सदस्यले समर्थन गरेका थिए।

एमाले र तत्कालीन माओवादी केन्द्रबीचको गठबन्धन टुटेर कांग्रेससँग गठबन्धन बनेपछि कार्कीले २०८१ असोज २ गते दोस्रो पटक विश्वासको मत लिएका थिए। त्यसबेला उनको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो। मतदानमा ८३ प्रदेशसभा सदस्य सहभागी भएका थिए।

९२ सदस्यीय कोशी प्रदेशसभामा हाल एमालेका ४०, नेपाली कांग्रेसका २९ र माओवादी केन्द्र तथा नेकपा (एकीकृत समाजवादी) मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीका १७ सदस्य छन्। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सभामुखसहित ५ र जनता समाजवादी पार्टीका १ सांसद छन्।

आज हुने विश्वासको मतमा सत्तारूढ गठबन्धनका दलहरूको समर्थन मुख्यमन्त्री कार्कीका लागि निर्णायक हुनेछ। कांग्रेसले समर्थन फिर्ता लिएपछि बदलिएको राजनीतिक समीकरणबीच कार्कीले प्रदेशसभाबाट विश्वासको मत कायम राख्न लागेका हुन्।