काठमाडौं-नेपाली कांग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारले बलात्कारपछि हत्या गरिएकी ३ वर्षीया गरिमा चौधरीको परिवारसँग सरकारले गरेको सम्झौतामाथि गम्भीर प्रश्न उठाएकी छन्।
प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद गच्छदारले पीडित परिवारसँग सम्झौता गर्दै सालिक निर्माण गर्ने निर्णयले न्यायको अनुभूति दिन नसक्ने बताइन्। उनले प्रश्न गर्दै भनिन्, ‘एउटा सालिक ठड्याएर ३ वर्षीया बालिकाको जीवन फिर्ता आउँछ ?’
सांसद गच्छदारले सरकारले गरेको सहमतिले तत्काल आन्दोलन रोक्न र पीडित परिवारको क्षणिक पीडा कम गर्न सक्ने भए पनि यसले दीर्घकालीन न्याय सुनिश्चित गर्न नसक्ने धारणा राखिन्। राहत र सम्झौताले राज्यप्रति नागरिकको विश्वास पुनर्स्थापित गर्न नसक्ने उनको भनाइ थियो।
सांसद गच्छदारले सडक आन्दोलन चर्किएपछि मन्त्रीहरू आफैं सक्रिय हुने र स्थानीय प्रशासनलाई कमजोर बनाउने प्रवृत्तिले स्थानीय सरकार तथा प्रशासनप्रतिको जनविश्वास घट्दै गएको बताइन्। उनले यस्ता जघन्य अपराधमा कानुनको कडाइका साथ कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै अपराधलाई दबाब वा प्रभावका आधारमा मिलापत्र गराउने व्यक्तिलाई कडा कानुनी कारबाही गर्न माग गरिन्।
सांसद गच्छदारले बलात्कारजस्ता गम्भीर अपराधका घटनामा पीडितलाई न्यायबाट वञ्चित गराउने कानुनी व्यवस्थाको समेत संशोधन गर्न सरकारसँग आग्रह गरिन्।


प्रतिक्रिया