काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा सांसद विपिनकुमार आचार्यले बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या र काठमाडौंको शंखमूलस्थित होस्टेलमा मृत फेला परेका वसन्त कालाखेतीको घटनालाई लिएर सरकारको कार्यशैलीमाथि कडा प्रश्न उठाएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद आचार्यले गृह मन्त्रालय र प्रहरी प्रशासनले अनुसन्धानका क्रममा अपनाएको प्रचारमुखी प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाए। उनले गरिमा चौधरी प्रकरणमा पीडित परिवार र अभियुक्तसँग सम्बन्धित भिडियो सार्वजनिक गरिनु असंवेदनशील र अनुचित भएको बताए।
२०८३ साउन ३१ गते घरबाट हराएकी र तीन दिनपछि मृत फेला परेकी गरिमा चौधरीका आमा–बुबालाई काठमाडौं बोलाएर गृह मन्त्रालयमै धन्यवाद व्यक्त गरेको भिडियो खिचिएको विषयमा आचार्यले आक्रोश व्यक्त गरे। ‘हामीले कस्तो समाज बनाइरहेका छौँ ? मृतकका बुवाआमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ,’ सांसद आचार्यले भने, ‘के एउटा विक्षिप्त परिवारलाई मन्त्रालयमा राखेर भिडियो बनाउनु सरकारको काम हो ? यस्तो कार्य तत्काल बन्द गरिनुपर्छ।’
सांसद आचार्यले मृतकका बुवा मनोज चौधरी र आमा मानमती चौधरीको पीडालाई सरकारले प्रचारको माध्यम बनाएको आरोप लगाउँदै यसले न्यायको उपहास गरेको बताए। साथै, अभियुक्तको बयान र अस्पतालमा गरिएको सोधपुछको भिडियो सार्वजनिक भएको विषयमा पनि उनले आपत्ति जनाए।
‘मेडिकल जाँचका क्रममा अभियुक्तले बोलेका कुराहरूलाई सार्वजनिक रूपमा पब्लिकमा राखिन्छ। एउटा आरोपितले बोलेका कुरालाई यसरी सार्वजनिक गरिनु कानुनी राज्यको उपहास हो,’ उनले भने, ‘यस्तो समाज निर्माण गर्ने काम बन्द हुनुपर्छ।’
आचार्यले शंखमूलस्थित होस्टेलमा मृत फेला परेका वसन्त कालाखेतीको घटनालाई पनि सदनमा उठाउँदै होस्टेलमा बस्ने युवाको सुरक्षामाथि गम्भीर प्रश्न उठेको बताए। वसन्तको मृत्युको खबर सुनेपछि दाङमा रहेकी उनकी आमाको पनि मृत्यु भएको र वैदेशिक रोजगारीमा रहेका बुवा तत्काल स्वदेश फर्कन नसकेको अवस्था हृदयविदारक रहेको उनले उल्लेख गरे।
‘होस्टेलमा बस्ने युवाहरूको सुरक्षामा गम्भीर प्रश्न उब्जिएको छ। वसन्तका बुवा विदेशबाट फर्किन खोज्दा पनि वातावरण बनेको छैन,’ उनले भने, ‘यस्ता आपतकालीन अवस्थामा नागरिकलाई स्वदेश फर्काउने प्रभावकारी संयन्त्र कहाँ छ ?’
महामन्त्री आचार्यले सरकारलाई प्रचारमुखी गतिविधिभन्दा नागरिकको न्याय, सुरक्षा र संवेदनशीलतामा केन्द्रित हुन आग्रह गरेका छन्।


प्रतिक्रिया