अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सवारी दुर्घटनामा ज्यान गुमाएका नागरिकलाई न्याय दिलाउन एमाले प्रमुख सचेतक महरको माग

सवारी दुर्घटनामा ज्यान गुमाएका नागरिकलाई न्याय दिलाउन एमाले प्रमुख सचेतक महरको माग


काठमाडौंनेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले सुदूरपश्चिमका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै सचेतक महरले जेब्रा क्रसिङमै नागरिक मारिनु र ठक्कर दिएपछि सवारी साधन ब्याक गरेर किचेर मार्नु जघन्य अपराध भएको बताएका हुन्। उनले कैलालीको अत्तरियामा भएको सिन्की बोहराको मृत्युको घटना अत्यन्त क्रूर रहेको उल्लेख गर्दै दोषीमाथि कडा कारबाहीको माग गरे।

महरका अनुसार बझाङको मष्टा गाउँपालिका-६ की सिन्की बोहरालाई महाकाली यातायातको बसले ठक्कर दिएपछि पुनः ब्याक गरेर किचेको प्रत्यक्षदर्शीको भनाइ रहेको छ। ‘यो दुर्घटना मात्र होइन, नियतवश गरिएको हत्या हो,’ उनले संसद्मा भने। भदौ ७ गते साँझ भएको उक्त घटनापछि मृतकका परिवारले हालसम्म शव बुझ्न नसकेको भन्दै उनले पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग आग्रह गरे।

त्यस्तै, उनले धनगढी-८ स्थित बुद्धचोकमा भएको अर्को दुर्घटनाको पनि चर्चा गरे। भदौ १ गते बिहान मर्निङ वाक सकेर घर फर्किने क्रममा जेब्रा क्रसिङबाट बाटो काट्दै गरेका ६२ वर्षीय नन्दलाल गिरीलाई सुप्रप्र ०१-००१ ज १८७९ नम्बरको हाइसले ठक्कर दिएको थियो। उपचारका क्रममा भारतको लखनउमा भदौ ७ गते गिरीको मृत्यु भएको जानकारी दिँदै महरले सडक सुरक्षाको अवस्थामाथि प्रश्न उठाए।

‘जेब्रा क्रसिङमा समेत नागरिक सुरक्षित छैनन् भने सडक सुरक्षाको अवस्था के छ ?’ भन्दै उनले सरकारको ध्यानाकर्षण गराए। महरले अत्तरिया घटनाका चालक रोहित सिंह धामीसहित दुवै घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित न्याय र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।