अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमरेश सिंहको आरोप: रास्वपाको सरकार आएपछि समाजमा अराजकता बढ्यो

अमरेश सिंहको आरोप: रास्वपाको सरकार आएपछि समाजमा अराजकता बढ्यो


काठमाडौंसत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले सरकारप्रति जनताको विश्वास कमजोर बन्दै गएको बताएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले बारा र सप्तरीमा भएका बालिका हत्या तथा बलात्कारका घटनाले आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै समाज कुन दिशातर्फ गइरहेको छ भन्ने गम्भीर प्रश्न उठाए।

सांसद सिंहले पछिल्ला घटनालाई केवल दुईवटा आपराधिक घटनाका रूपमा मात्र हेर्न नमिल्ने बताए। उनले सरकार गठन भएयता कप्तानगञ्ज घटनादेखि धार्मिक तथा सामाजिक सद्भावमा देखिएका चुनौती, मिटरब्याज र लघुवित्त पीडितका आन्दोलन, चिकित्सकसँग सम्बन्धित विवादलगायत विभिन्न घटनाको उल्लेख गर्दै यी सबैले सरकारको प्रभाव र विश्वसनीयतामाथि प्रश्न उठाएको बताए।

‘यो दुइटा घटनालाई मात्रै हेर्न मिल्दैन। हाम्रो सरकार बनेदेखि चाहे कप्तानगञ्जको घटना होस्, धार्मिक र सामाजिक सद्भावको कुरा होस्। या बिभिन्न किसिमका आन्दोलन होस्। मिटरब्याज पीडितको होस्, लघुवित्त पीडितको होस् चाहे डाक्टरको होस् दिनका दिन भइरहेको छ’ सांसद सिंहले भने, ‘यसले के देखाउँछ कि, हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ।’

अराजकता, अस्थिरता, हत्या, हिंसा, बलात्कार जस्ता घटना बढेको भनेर उनले सरकारको ध्यानाकर्षण गरे।

सांसद सिंहले समाजमा बेथिति बढ्दा जनताको विश्वास र भरोसा कमजोर हुने तथा त्यसको प्रत्यक्ष असर अपराध वृद्धिमा देखिने बताए। उनले यस्ता घटनाबारे गम्भीर छलफल गरी समाधान खोज्न आवश्यक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। सिंहले थपे, ‘जब समाजमा बेथिति हुन्छ, जब विश्वास र भरोसा उठ्छ, त्यो समाजमा अपराध बढ्छ । यसलाई राम्रो छलफलको आवश्यकता छ।’