अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको ‘खुट्टा लुलो’ हुँदैछ, गरिमा प्रकरणमा गम्भीर अनुसन्धान गरियोस्: पद्मा अर्याल

सरकारको ‘खुट्टा लुलो’ हुँदैछ, गरिमा प्रकरणमा गम्भीर अनुसन्धान गरियोस्: पद्मा अर्याल


काठमाडौं-नेकपा (एमाले) की संसदीय दलकी उपनेता पद्मा अर्यालले बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्या प्रकरणलाई गम्भीर रूपमा लिएर यस्ता अपराध किन भइरहेका छन् भन्ने विषयमा सरकारबाट विस्तृत अध्ययन तथा अनुसन्धान हुनुपर्ने माग गरेकी छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै अर्यालले घटनाको निन्दा गर्दै दोषीमाथि शीघ्र कारबाही हुनुपर्ने बताइन्।

उपनेता अर्यालले यौनजन्य अपराधका घटनामा संलग्न व्यक्तिहरूले यस्ता क्रूर कार्य गर्ने साहस कहाँबाट पाउँछन् भन्ने विषयमा राज्यले गम्भीरतापूर्वक खोजी गर्नुपर्ने बताइन्। ‘बारामा बालिकाको क्रुर हत्या भएको छ म निन्दा गर्दछु। अनुसन्धानको लागि सुरक्षा निकाय लागेको छ। केही मानिस अनुसन्धानमा तानिएका छन्। दोषीमाथि छिटो कारबाही होस्। गरिमाको परिवारले न्याय पाउनुपर्छ,’ उनले भनिन्, ‘यौन पिपासु मानव भएर पशुजन्य व्यवहार गर्ने व्यक्तिलाई त्यो साहस कहाँबाट प्राप्त भयो ? ठीक ढंगले कारबाही अघि बढाएनौँ भने त्यसखाले प्रवृत्ति बढ्ने देखिन्छ।’

उनले यस्ता घटनामा प्रभावकारी कारबाही नभए अपराधी प्रवृत्ति झन् बढ्ने चेतावनी दिँदै निर्मला पन्तलगायतका विगतका घटनासमेत स्मरण गरिन्। उनले सरकारलाई भनिन्, ‘यस्ता घटना किन घट्छन् गम्भीर अध्ययन, अनुसन्धान गर्नुपर्छ। प्रतिवेदन तयार पारेर कार्यान्वयन गर्नतर्फ लाग्नुपर्छ।’

संसद्‌मा बोल्दै अर्यालले सरकारको कार्यशैलीप्रति पनि असन्तुष्टि व्यक्त गरिन्। सरकारले गरेका प्रतिबद्धता पूरा गर्न नसकेको टिप्पणी गर्दै उनले सरकारको “खुट्टा लुलो हुन थालेको” आरोप लगाइन्। आफूहरूले उठाएका विषय प्रतिपक्षका मात्रै नभई आम नागरिकका सरोकारका विषय भएको उनको भनाइ थियो। ‘साँचो कुरा बोलिरहनुपर्छ। हामीले बोलेका कुरा प्रतिपक्षीका कुरा मात्रै होइनन् सबैको हो। बोलेको कुरा पूरा गर्ने कसम खाएको सरकार खुट्टा लुलो बनाइरहेको छ।’

उपनेता अर्यालले सरकार नागरिकका समस्या समाधान गर्नुभन्दा सामाजिक सञ्जालमार्फत प्रतिपक्षको आलोचना गर्ने काममा बढी केन्द्रित भएको आरोप लगाइन्।उनले ग्यास, रासायनिक मल र राहदानीको लागि लाइनमा बसेका नागरिकको समस्या समाधान गर्नुभन्दा सरकार निकटस्थमार्फत प्रतिपक्षको आलोचना गर्ने काममा बढी केन्द्रित भएको आरोप लगाइन्। के सरकारको काम प्रतिपक्षको विरोध गर्ने कारखाना मात्रै सञ्चालन गर्ने हो ? उनको प्रश्न छ। 

सांसद अर्यालले भनिन्, ‘आज प्रधानमन्त्रीका वरिपरि बस्ने निकटका मान्छेहरू हामीले के देखिरहेका छौं भने ग्यास प्राप्त नगरेका उपभोक्ताको लाइन देखेर अनि रासायनिक मल प्राप्त नगरेका किसानहरुलाई देखेर र राहदानीको लाइनमा बसेका नागरिकहरुलाई लक्षित गरेर आज पनि निकटका फेसबुकका पेजहरूबाट विरोधको वर्षा भइरहन्छ। मैले सोध्न चाहन्छु, म प्रश्न गर्न चाहन्छु, के सरकारको काम प्रतिपक्षको विरोध गर्ने कारखाना मात्रै सञ्चालन गर्ने हो ? यति धेरै जनताका समस्या छन्, ती समस्या समाधानमा ध्यान किन गएको छैन?’

उनले प्रविधिको विकास हुनु आफैँमा समस्या नभएपनि त्यसले समाजमा गम्भीर समस्या सिर्जना गरिरहेको बताइन्। बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा उमेर र वर्गीकरणका आधारमा मापदण्ड बनाउन समेत सरकारसँग माग गरिन्।