अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हर्क साम्पाङको प्रश्न– ‘प्रधानमन्त्री मुस्ताङ किन जानुभयो सदनलाई जवाफ दिनुपर्छ’

हर्क साम्पाङको प्रश्न– ‘प्रधानमन्त्री मुस्ताङ किन जानुभयो सदनलाई जवाफ दिनुपर्छ’


काठमाडौं-श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ)ले प्रधानमन्त्री बालेन शाहको मुस्ताङ भ्रमणबारे प्रश्न उठाउँदै प्रधानमन्त्री पदको निजी जीवन नहुने बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले प्रधानमन्त्री निजी भ्रमणका लागि मुस्ताङ गएको भनिए पनि सरकारी सुरक्षा संयन्त्रसमेत साथमा लिएर गएको भन्दै त्यसबारे सदनलाई जानकारी गराउनुपर्ने माग गरे।

‘प्रधानमन्त्री आफ्नो निजी भ्रमणमा उता जानुभयो रे भन्ने कुरा आएको छ। प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन। यो कुरा ख्याल राख्नुपर्छ। प्रधानमन्त्री एक्लै जानुभएको होइन, उहाँले सरकारी सुरक्षा संयन्त्र पनि आफूसँग लिएर जानुभएको छ,’ उनले भने।

देश बाढीपहिरोलगायत विपद्को चपेटामा परिरहेका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद् र संसद्लाई जानकारी नदिई मुस्ताङ जानुको कारण स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो।

‘उहाँ मन्त्रिपरिषद्, संसद्लाई सूचना नदिई जानुभएको हो ? के खान जानुभएको ? हावा थिएन भने काठमाडौंमा हावा छ। मुस्ताङमा स्याउ पनि फलेको थिएन होला अहिले। के चाख्न जानुभएको हो, त्यो भन्नुपर्छ। सदनमा जवाफ दिनुपर्छ,’ साम्पाङले भने।

साम्पाङले सुनसरीको बराहक्षेत्रमा कोशी नदीको कटानबाट खेतीयोग्य जमिन नष्ट भइरहेको विषयमा पनि सरकारको ध्यानाकर्षण गराए। उनले कोशी ब्यारेजका ५६ वटै ढोका नखोल्दा बाढीका समयमा समस्या थपिएको दाबी गर्दै यसबारे सरकारले तत्काल एक्सन लिनुपर्ने बताए।

‘विपद्ले मुलुक आक्रान्त छ। सुनसरीको बराहक्षेत्रमा कोशी कटानले गर्दा विघौँ–विघा खेतीयोग्य जमिन काटिएर नाश भइरहेको छ। त्यसतर्फ सरकारले के गर्नुपर्ने हो, तुरुन्त गर्नुपर्छ,’ उनले भने।

उनले कानून कार्यान्वयनको अवस्थामाथि समेत प्रश्न उठाउँदै अपराधीहरू कानूनलाई गोजीमा राखेर हिँडेजस्तो अवस्था देखिएको टिप्पणी गरे। ‘हाम्रो देशको कानून कमजोर कि कानून चलाउने मान्छे ?’ भन्दै उनले कानूनभन्दा त्यसको कार्यान्वयन गर्ने पक्ष जिम्मेवार हुनुपर्ने बताए।

त्यस्तै, स्वीस बैंकमा भ्रष्ट नेताहरूको पैसा रहेको भन्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तको भनाइ स्मरण गर्दै साम्पाङले विदेशमा रहेको अवैध सम्पत्ति फिर्ता ल्याउन नसकिएकोप्रति पनि सरकारको आलोचना गरे।

विदेशमा रोजगारीका क्रममा मृत्यु भएका नेपाली नागरिकको शवसमेत सहज रूपमा नेपाल ल्याउन नसक्ने अवस्था रहेको भन्दै उनले सरकारको कार्यक्षमतामाथि प्रश्न उठाए।