अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गरिमा चौधरी हत्या प्रकरणलाई ‘तमासा’ नबनाउन सरकारलाई सांसद प‍ोर्तेलको आग्रह

गरिमा चौधरी हत्या प्रकरणलाई ‘तमासा’ नबनाउन सरकारलाई सांसद प‍ोर्तेलको आग्रह


काठमाडौं-नेकपा एमालेका राष्ट्रिय सभा सदस्य सोम पोर्तेलले तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको घटनालाई लिएर सरकारको संवेदनशीलतामाथि प्रश्न उठाएका छन्।

मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै पोर्तेलले गरिमाको न्यायका लागि आवाज उठाउनु र दोषीलाई कठोर सजाय दिनु सबैको साझा दायित्व भएको बताए।

तर, घटनापछि राज्यका निकायबाट भएका गतिविधिले आफूलाई गम्भीर रूपमा विचलित बनाएको उनको भनाइ थियो। उनले घटनालाई लिएर गृह मन्त्रालय र प्रहरीको निर्देशनमा छुट्टाछुट्टै भिडियो छायांकन गरिएको दाबी गर्दै ती भिडियोको उद्देश्य र संवादप्रति आपत्ति जनाए।

पोर्तेलले भने, ‘बलात्कारपछि हत्या भएकी नाबालिकाको आमा-बुबालाई ‘हामी खुसी छौँ’ भन्न लगाइन्छ भने उता अभियुक्त छाती फुलाएर विजयघोषको शैलीमा बयान दिन लगाइन्छ।’

उनले यस्ता गतिविधिलाई अमानवीय, असंवेदनशील र हृदयविदारक भन्दै नागरिकको पीडालाई तमासामा परिणत नगर्न सरकारलाई आग्रह गरे।

‘नागरिकको पीडालाई तमासामा नबदल्न म सरकारलाई आग्रह गर्न चाहन्छु,’ उनले राष्ट्रिय सभामा भने।

पोर्तेलले गरिमा हत्याका दोषीलाई कठोर कानुनी कारबाही हुनुपर्नेमा जोड दिँदै पीडित परिवारको संवेदनशीलता र नागरिकको न्यायको मागलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्ने बताए।