अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चको २० लाख रुपैयाँ सहयोग

बाढी-पहिरो पीडितका लागि प्रवासी नेपाली मञ्चको २० लाख रुपैयाँ सहयोग


काठमाडौं-प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले बाढी पहिरोको महाविपत्तिमा परेकाहरुको उद्धार तथा राहत कोषमा तत्काल रु. बीस लाख सहयोग गर्ने भएको छ। 

प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको सचिवालयको आकस्मिक बैठकले मातृभूमिप्रतिको दायित्वलाई आत्मसात गर्दै बाढी तथा पहिरो प्रभावित नागरिकहरूको तत्काल राहत तथा सहयोगका लागि कमिटीको कोषबाट उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो। 

कमिटीले आज प्रेस विज्ञप्ति जारी गरी नेपालका विभिन्न क्षेत्रमा हालै आएको बाढी तथा पहिरोबाट भएको जनधनको क्षतिप्रति प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले गहिरो दुःख व्यक्त गरेको छ। यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित तथा विस्थापित परिवारहरूप्रति हार्दिक ऐक्यबद्धता व्यक्त गरेको छ। 

उक्त रकम बाढी तथा पहिरो प्रभावित क्षेत्रका नागरिकहरूको तत्काल आवश्यकतालाई प्राथमिकता दिई राहत तथा सहयोगमा परिचालन गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ। 

सहयोग वास्तविक पीडितसम्म प्रभावकारी, न्यायोचित र पारदर्शीरूपमा पुग्ने सुनिश्चितताका लागि सम्बन्धित निकाय तथा आवश्यक संयन्त्रसँग आवश्यक समन्वय गरी उपलब्ध गराइने जनाइएको छ।

प्रवासी नेपाली मञ्चले ‘नेपाल बाढी तथा पहिरो पीडित राहत सहयोग अभियान’ विश्वव्यापी रूपमा सञ्चालन गर्ने निर्णयसमेत गरेको विज्ञप्तिमा जनाइएको छ । यस अभियानमार्फत विश्वभर रहेका मञ्चका महादेश तथा राष्ट्रिय कमिटीहरू, सदस्यहरू, शुभेच्छुकहरू, नेपाली व्यवसायीहरू, सामाजिक तथा सामुदायिक संघसंस्थाहरू एवं सम्पूर्ण नेपाली समुदायलाई विपद् प्रभावित नागरिकहरूको राहत तथा पुनस्र्थापनामा सहयोग पुर्याउन मानवीय भावनाका साथ ऐक्यबद्ध हुन मञ्चले हार्दिक आह्वान गरेको छ।