अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वीरेन्द्रनगर नगरपालिकाले रसुवा बाढी प्रभावितका लागि ५१ लाख आर्थिक सहयोग गर्ने घोषणा

वीरेन्द्रनगर नगरपालिकाले रसुवा बाढी प्रभावितका लागि ५१ लाख आर्थिक सहयोग गर्ने घोषणा


सुर्खेतकर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि ५१ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

नगरप्रमुख मोहनमाया ढकालका अनुसार मंगलबार बसेको नगर कार्यपालिका बैठकले बाढी प्रभावित नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो। निर्णयअनुसार सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।

नगरप्रमुख ढकालले विपद्को कठिन घडीमा स्थानीय तहहरूबीचको सहकार्य र ऐक्यबद्धता आवश्यक रहेको बताउँदै वीरेन्द्रनगर नगरपालिकाले मानवीय उत्तरदायित्व स्वरूप सहयोग प्रदान गरेको उल्लेख गरिन्। उनले प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनर्स्थापनामा सबै तहका सरकार, निजी क्षेत्र तथा नागरिक समाजको सहकार्य आवश्यक रहेको बताइन्।

२०८३ भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी हिमाली क्षेत्रमा भएको हिमनदी तथा चट्टान ध्वस्त भई नदीमा एक्कासि ठूलो परिमाणमा पानी, हिलो, ढुंगा र गेग्रान बग्दा उत्पन्न भएको थियो। बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ तथा नवलपरासीसम्म व्यापक क्षति पुर्‍याएको छ।

बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्गलबार बिहानसम्म सबैभन्दा धेरै चितवनमा ३२१ जनाको शव फेला परेको छ। साथै नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको शव फेला परेको छ।

यसैगरी, तीन हजार ९१६ जना सम्पर्कविहीनमध्ये नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बल, नेपालका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका तीन जना राष्ट्रसेवक कर्मचारी रहेका छन्।

हालसम्म घाइते २७९ जना रहेको र उपचारपछि विभिन्न अस्पतालबाट ‘डिस्चार्ज’ हुनेको सङ्ख्या १६८ तथा ११ हजार ८१४ जनाको उद्धार भइसकेको प्राधिकरणले जनाएको छ। हालसम्म २१ हजार ११ जना सुरक्षाकर्मी परिचालित भएको प्राधिकरणले जनाएको छ।