काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाहले भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङका नागरिक मात्र नभई सम्पूर्ण नेपालीलाई पीडा दिएको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढीले क्षणभरमै धेरै नागरिकका आमाबुबा, दाजुभाइ तथा दिदीबहिनी खोसेर लगेको भन्दै गहिरो दुःख व्यक्त गरे। उनले उक्त विपद्को पीडा प्रभावित जिल्लामा सीमित नरही सम्पूर्ण देशले महसुस गरिरहेको बताए।
‘भोटेकोशीमा आएको बाढीले क्षणभरमै आमाबुबा, दाजुभाइ र दिदीबहिनी खोसेर लग्यो। यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै होइन, सम्पूर्ण नेपालीको छातीमा परेको पीडा हो,’ प्रधानमन्त्री शाहले भने।
विपद्को कठिन घडीमा सरकार जिम्मेवारीबाट पछि नहट्ने स्पष्ट पार्दै उनले प्राकृतिक प्रकोपविरुद्ध जुध्नुको विकल्प नरहेको उल्लेख गरे। ‘यो विपदमा लड्नुको हामीसँग विकल्प थिएन, हामी लडिरहेका छौँ,’ प्रधानमन्त्री शाहले भने।
प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजी कार्यलाई तीव्रता दिइएको जानकारी दिँदै पुनर्निर्माणका लागि सरकारले ठोस योजना बनाएर काम गरिरहेको बताए। साथै उनले विपद्को सामना गर्न सबै राजनीतिक दल, सरोकारवाला निकाय र नागरिकलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।


प्रतिक्रिया