काठमाडौं-प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको सूचना सरकारलाई आए त्यसलगत्तै उद्धार तथा सतर्कता सम्बन्धी कदम चालिएको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा बाढीपछिको अवस्था र सरकारको उद्धार तथा राहत प्रयासबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले बाढीको प्रारम्भिक सूचना प्राप्त भएपछि बिहान ९ बजे जिल्ला प्रशासन कार्यालयमार्फत तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको बताए।
जिल्लाबाट प्राप्त ब्रिफिङका आधारमा प्रभावित क्षेत्रका नागरिकलाई तत्काल जोखिमबाट बच्न सुरक्षित स्थानमा सर्न सूचना जारी गरिएको उनले बताए । त्यसपछि बिहान ९ बजेर १५ मिनेटमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बोलाइएको उनले जानकारी दिए।
प्रधानमन्त्री शाहले बिहान ९ बजेर ३५ मिनेटमा नेपाल टेलिकममार्फत प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन एसएमएस सूचना पठाइएको र ९ बजेर ४५ मिनेटमा उद्धार कार्यका लागि पहिलो हेलिकोप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको बताए।
प्रधानमन्त्री शाहले सरकार सुरुदेखि नै उद्धार, राहत र प्रभावित नागरिकको सुरक्षामा केन्द्रित भएर काम गरिरहेको उल्लेख गर्दै खोज तथा उद्धार अभियानलाई तीव्र बनाइएको बताए।


प्रतिक्रिया