काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले विपद्को समयमा आरोप–प्रत्यारोपमा भन्दा नागरिकको उद्धार, राहत र पुनर्निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शाहीले विपद्का बेला सबै राजनीतिक दल एकजुट भएर सरकारलाई सहयोग गर्नुपर्ने बताए। उनले सर्वदलीय बैठकमा पनि सरकारलाई कसरी सहयोग गर्ने र उद्धार तथा राहतलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जानकारी दिए।
‘सरकारलाई यो विपद्को बेला हामी साथ दिइरहेका छौँ। यतिखेरको समय भनेको हामी सबै मिलेर नागरिकलाई कसरी बचाउने, बेपत्ता भएका मानिसहरूलाई कसरी खोज्ने र पीडितहरूको आँसु कसरी पुछ्ने भन्ने विषय हो,’ उनले भने।
तर, शाहीले रसुवाको चिलिमे सुरुङमा रहेका व्यक्तिहरूको उद्धारमा राज्यका संयन्त्रबाट पर्याप्त तदारुकता नदेखिएको आरोप लगाए । उनका अनुसार बाढी आएको दिन दिउँसो २ बजेभित्रै आफू गृह मन्त्रालय पुगेर सुरुङभित्र मानिसहरू रहेको र उनीहरूको फोन नम्बरसमेत उपलब्ध गराएका थिए।
गृहमन्त्रीलाई समेत यसबारे जानकारी गराएको भए पनि समयमा सुनुवाइ नभएको उनको दाबी छ। शाहीका अनुसार ७२ घण्टापछि मात्र सुरुङमा अनुगमन टोली पुगेको थियो भने ९६ घण्टापछि उद्धार टोली पुगेको थियो। उक्त उद्धार टोली आफूहरूले पठाएका पर्वतारोही रहेको उनले बताए।
‘हामी जनताका जनप्रतिनिधि हौँ, तर राज्यका स्रोत र साधन परिचालन गर्ने, उद्धार टोली खटाउने कार्यकारी अधिकार हामीसँग छैन। कार्यकारी अधिकार माननीय मन्त्रीज्यूहरूसँग छ। हामीले त्यही मागिरहेका हौँ,’ शाहीले भने।
उनले सुरुङभित्र उद्धारका लागि आवश्यक उपकरण, विशेषगरी मिनी स्काभेटर, समयमै उपलब्ध हुन नसकेको आरोप पनि लगाए । सामान्य अवस्थामा देशभित्रै वा छिमेकी मुलुकबाट विमानमार्फत केही घण्टामै उपकरण ल्याउन सकिने भए पनि उद्धारका लागि आवश्यक उपकरण उपलब्ध हुन २४, ४८, ९६ घण्टादेखि १४४ घण्टासम्म लागेको उनको दाबी छ।
प्रधानमन्त्रीले संसद्मा हिलोले भरिएको सुरुङभित्र पठाउन सकिने प्रविधि संसारमा नरहेको बताएको प्रसंग उल्लेख गर्दै शाहीले त्यसको प्रतिवाद गरे । उनले विश्वका विभिन्न स्थानमा त्यस्ता प्रविधि प्रयोग भइरहेको दाबी गरे।
शाहीले आफू कुनै दल वा व्यक्तिमाथि आरोप लगाउन नभई सुरुङभित्र रहेका आफ्ना आफन्त तथा प्रभावित नागरिकको उद्धारका लागि सरकारको ध्यानाकर्षण गराइरहेको बताए।
उनले सुरुङबाट जीवितै बाहिर आएका जुम्लाका पाँच जनासँग समेत सरकारले उनीहरूको अवस्थाबारे जानकारी नलिएको आरोप लगाए। ती पाँच जनासहित अन्य केही व्यक्तिलाई आफूहरूले व्यक्तिगत खर्चमा उद्धार गरी घर पठाएको उनको भनाइ थियो।
‘हामीले धेरै मान्छेको जीवन बचाउन सक्थ्यौँ, तर सकिरहेका छैनौँ,’ शाहीले भने।
शाहीले विपद्बाट क्षतिग्रस्त घर तथा संरचनाको पुनर्निर्माण गरी प्रभावित नागरिकलाई पुनः सामान्य अवस्थामा फर्काउने जिम्मेवारी पनि सरकारसँगै सबै राजनीतिक दल र राज्य संयन्त्रको भएको बताए।


प्रतिक्रिया