अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोटेकोशी बाढीपीडितका लागि एमाले कोशी संसदीय दलले ४ लाख सहयोग गर्ने

भोटेकोशी बाढीपीडितका लागि एमाले कोशी संसदीय दलले ४ लाख सहयोग गर्ने


विराटनगर-नेकपा (एमाले) कोशी प्रदेश सभा संसदीय दलले रसुवाको भोटेकोशीमा आएको बाढी तथा विभिन्न जिल्लामा गएको पहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि ४ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

दलका प्रमुख सचेतक रमेशकुमार बस्नेतले बुधबार विज्ञप्ति जारी गर्दै भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढी तथा त्यसपछि रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा गएको पहिरोबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

संसदीय दलले पार्टीको केन्द्रीय कार्यालयमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको हो।

विज्ञप्तिमा बाढी तथा पहिरोमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता भएकाहरूको तत्काल खोजी तथा उद्धार गर्न सरकारसँग माग गरिएको छ।

एमाले कोशी संसदीय दलले प्रभावित नागरिकको प्रभावकारी उपचार, विस्थापितहरूको सुरक्षित स्थानान्तरण तथा प्रभावित परिवारलाई आवश्यक खाद्यान्न, आवास र राहतको व्यवस्था मिलाउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।

प्राकृतिक विपत्तिको यस कठिन समयमा सबै पक्ष एकजुट भएर मानवीय सेवामा समर्पित हुन तथा नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्न पनि संसदीय दलले आह्वान गरेको छ।