अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभाको सोमबारको बैठकमा कानुन र स्वास्थ्यसम्बन्धी विधेयक प्रस्तुत हुने

प्रतिनिधिसभाको सोमबारको बैठकमा कानुन र स्वास्थ्यसम्बन्धी विधेयक प्रस्तुत हुने


काठमाडौँ-सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाको आगामी सोमबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बिहान ११ बजे बस्ने बैठकका लागि सार्वजनिक गरिएको कार्यसूचीमा कानुन र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विधेयकहरू प्रस्तुत हुनेछन् । 

कार्यसूचीको पहिलो बुँदामा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यक्रम छ । सुरुमा मन्त्री गौतमले  विधेयक सदनमा प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नेछिन् । त्यसपछि विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । 

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता वादीले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्ने र तत्पश्चात् उक्त विधेयक प्रस्तुत गर्ने कार्यतालिका दोस्रो बुँदामा छ । 

बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित चार वटा विधेयक प्रस्तुत गर्ने कार्यसूची छ । 

कार्यसूचीअनुसार आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्तुत गर्ने, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३ लाई पेस गर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ पेस गर्ने र रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३ मन्त्री मेहताले पेस गर्ने कार्यसूची रहेको छ । 

संसद् सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन् ।