काठमाडौँ-प्रतिनिधिसभाको आजको बैठकमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ र रिहाइको विषयले प्रवेश पाएको छ।
श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले पूर्वप्रधानन्यायाधीश जबरालाई पक्राउ गरेर भोलिपल्टै रिहा गरिएको घटनाप्रति आपत्ति जनाउँदै सरकारी शैलीको आलोचना गरेका छन्। उनले यसलाई ‘केटाकेटी खेल’को संज्ञा दिए।
सिंहदरबारस्थित संसद् भवनमा बोल्दै सांसद राईले प्रधानन्यायाधीशजस्तो गरिमामय पदमा बसेका व्यक्तिलाई पक्राउ गर्नु सामान्य विषय नभएको बताए।
उनले भने, ‘पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्ने, अनि भोलिपल्टै छोड्ने ? यो पक्राउ हो कि केटाकेटी खेल्ने खेल हो ? सरकारले यस्ता गम्भीर विषयमा नौटङ्की गर्न छोड्नुपर्छ।’
सांसद राईले राज्य संयन्त्रले कुनै पनि व्यक्तिलाई पक्राउ गर्दा त्यसको कानुनी आधार र विषयको गम्भीरता पुष्टि हुनुपर्ने बताए। गम्भीर विषयमा तथ्यपूर्ण अनुसन्धानपछि मात्रै कानुनी कारबाही अघि बढाउनुपर्ने उनको भनाइ थियो।
‘विषय कति गम्भीर हो, त्यसको तथ्यपूर्ण अनुसन्धानपछि मात्रै कानुनी कारबाही अघि बढाउनुपर्छ। पक्रिने र भोलिपल्टै छोड्ने कामले देशको न्याय प्रणाली र सरकारी निकायको विश्वसनीयतामाथि प्रश्न उठाएको छ,’ उनले भने।



प्रतिक्रिया