अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारमाथि एमाले सांसद बरालको प्रश्न- यो सुशासन हो कि निरङ्कुशता?

सरकारमाथि एमाले सांसद बरालको प्रश्न- यो सुशासन हो कि निरङ्कुशता?


काठमाडौं-नेकपा एमालेकी सांसद यशोदाकुमारी बरालले देशका विभिन्न स्थानमा भइरहेको प्राकृतिक विपद्बाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै सरकारको सुरक्षा संयन्त्रको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएकी छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद बरालले कर्णालीलगायतका क्षेत्रमा प्राकृतिक विपद्का कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिन्।

उनले पछिल्लो समय नागरिकलाई पक्राउ गर्ने शैलीप्रति आपत्ति जनाउँदै पर्याप्त प्रमाणबिनै मानिसहरूलाई घरबाटै पक्राउ गरेर केही दिनमै रिहा गर्ने कार्यले राज्यप्रति नागरिकको विश्वास कमजोर बनाएको बताइन्।

बरालले भनिन्, ‘राज्यले अपहरण शैलीमा नागरिक सुतकै ठाउँमा गएर पक्राउ गर्ने, अनि बिनाप्रमाण जेलमा राखेर बाहिर ल्याउने ? यो अहिलेको सुशासन हो कि निरंकुशता ? यदि नागरिक दोषी नै हुन् भने किन पक्राउ गरिन्छ? अनि किन छोडिन्छ ? यो के शैली हो ? मलाई यसको जवाफ चाहिन्छ।’

उनले यस्तो कार्यशैलीले आम नागरिकमा त्रास फैलाएको दाबी गर्दै आफूलाई समेत सुतिरहेको अवस्थामा पक्राउ गर्न सरकार आउँछ कि भन्ने डर लाग्न थालेको टिप्पणी गरिन्।

सांसद बरालले प्रधानमन्त्री र गृहमन्त्रीलाई लक्षित गर्दै सरकारको सुरक्षा संयन्त्रको कार्यशैलीबारे स्पष्ट धारणा सार्वजनिक गर्न माग गरेकी छन्।