अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चोलेन्द्र पक्राउबारे नेकपाको प्रश्न : के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ ?

चोलेन्द्र पक्राउबारे नेकपाको प्रश्न : के खाएपछि सरकारलाई मध्यरातमा जोश आउँछ ?


काठमाडौं-नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का प्रमुख सचेतक युवराज दुलालले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ।

सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै दुलालले देशमा जारी बाढीपहिरोको विपत्ति र पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको मध्यरातको गिरफ्तारीलाई लिएर सरकारको आलोचना गरे। उनले पछिल्लो चार दिनदेखि देशका विभिन्न भागमा अविरल वर्षाका कारण जनधनको ठूलो क्षति भएको भन्दै सरकारको ध्यानाकर्षण गराए

दुलालले भदौ १० गते मध्यरातमा पूर्वप्रधानन्यायाधीश राणालाई पक्राउ गरिएको उल्लेख गर्दै पक्राउ पुर्जीबिना र स्पष्ट कारणबिना गरिएको उक्त कदमले गैरकानुनी अभ्यासको झल्को दिएको बताए।

‘हामी कानुनी राज्यमा छौँ कि गैरकानुनी राज्यमा ? सरकारले यसको जवाफ दिनुपर्छ,’ उनले भने, ‘देशलाई अराजकताको दिशातर्फ धकेल्ने काम भइरहेको छ।’

राणालाई ‘सुरक्षा थ्रेट’ को कारण देखाएर पक्राउ गरिएको भनाइप्रति पनि उनले प्रश्न उठाए। ‘सुरक्षा थ्रेट दिने व्यक्तिलाई पक्राउ गर्ने हो कि सुरक्षा थ्रेटमा परेको व्यक्तिलाई ? यसको स्पष्ट जवाफ सरकारसँग हुनुपर्छ,’ उनले भने।

दुलालले सरकारले दादागिरीपूर्ण शैली अपनाएको आरोप लगाउँदै यस्तो प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए। उनले वर्तमान सरकार पाँच वर्षका लागि मात्रै बनेको स्मरण गराउँदै राज्यलाई स्थायी सम्पत्तिजस्तो व्यवहार नगर्न चेतावनी दिए।

उनले पूर्वप्रधानमन्त्रीलाई पनि सरकार गठनको दिन मध्यरातमा घरमै घेराबन्दी गरी पक्राउ गरिएको र पछि अदालतले रिहा गरेको प्रसंग उल्लेख गरे। राणाको हकमा पनि पक्राउ गरेको १२ घण्टा नबित्दै रिहा गरिएको भन्दै उनले सरकारको कदममाथि प्रश्न उठाए।

‘१२ घण्टामै समाप्त हुने सुरक्षा थ्रेट के थियो ? त्यो कसले दिएको थियो ? कतै सरकारी सुरक्षा थ्रेट नै त होइन ?’ उनले प्रश्न गरे, ‘के खाएपछि मध्यरातमा जोस आउँछ र मध्यान्हमा होस आउँछ ?’

दुलालले सरकारले कानुन र लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्दै काम गर्नुपर्नेमा जोड दिएका छन्।