अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चोलेन्द्र पक्राउ प्रकरणमा राप्रपाको प्रश्न– के यही हो लोकतान्त्रिक सरकारको शैली ?

चोलेन्द्र पक्राउ प्रकरणमा राप्रपाको प्रश्न– के यही हो लोकतान्त्रिक सरकारको शैली ?


 काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा गरिएको गिरफ्तारी राज्य संयन्त्रको दुरुपयोग गरेर गरिएको बताएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा राप्रपा सांसद भरत गिरीले सरकारले राज्य आतङ्क सिर्जना गरेको आरोप लगाए । 

सांसद गिरीले पूर्वप्रधानन्यायाधीश जस्तो सम्मानित पदमा बसेका व्यक्तिलाई कानुनी प्रक्रिया मिचेर गरिएको गिरफ्तारीले मुलुकमा विधिको शासनको उपहास भएको बताए । ‘सरकारले पूर्वप्रधानन्यायाधीश जबरालाई जसरी मध्यरातमा घरबाटै अपहरण शैलीमा पक्राउ गर्‍यो, यो राज्य आतङ्कको बर्बर नमुना हो। यस्तो शैलीले लोकतन्त्र र मानव अधिकारको मर्ममाथि प्रहार गरेको छ,’ उनले भने । 

सांसद गिरीले आफूहरू कानुनको शासन र विधिको शासनको पक्षमा रहेको तर सरकारले कानुनको नाममा ‘प्रतिशोध’ को राजनीति गरिरहेको बताए । ‘हामी कानुन मान्छौँ, तर कानुनको आडमा गरिने डार्क राजनीति हामीलाई स्वीकार्य छैन। राज्यले शक्ति प्रयोग गर्दा पारदर्शिता अपनाउनुपर्छ, तर यो सरकारले त पटक–पटक निरङ्कुश र स्वेच्छाचारी शैली अपनाइरहेको छ,’ उनले भने । 

सांसद गिरीले यो सरकार गठन भएदेखि नै संवैधानिक अङ्गका प्रमुखहरू, पूर्वप्रधानमन्त्रीहरू र पूर्वपदाधिकारीहरूलाई लक्षित गरी निरन्तर यस्ता घटना दोहोरिरहेको बताए । 

उनले भने, ‘कहिले पूर्वप्रधानमन्त्री, कहिले पूर्वपदाधिकारी त कहिले पूर्वप्रधानन्यायाधीश राति सुतिरहेको बेला उठाउने र हतकडी लगाउने काम सरकारको नियमित कार्यतालिका जस्तै भएको छ। के यो लोकतान्त्रिक सरकारको काम हो ।’