अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चोलेन्द्र पक्राउबारे कांग्रेस सांसद ढुंगानाको प्रश्न- लोकतन्त्रमा पनि पञ्चायती शैली ?

चोलेन्द्र पक्राउबारे कांग्रेस सांसद ढुंगानाको प्रश्न- लोकतन्त्रमा पनि पञ्चायती शैली ?


काठमाडौं-नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको गिरफ्तारी प्रकरणलाई लिएर वर्तमान सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्।

सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद ढुंगानाले बिनापुर्जी र मध्यरातमा गरिएको गिरफ्तारीलाई लोकतान्त्रिक मूल्य र कानुनी शासनविपरीत भएको टिप्पणी गरे। उनले उक्त घटनालाई पञ्चायती शासनकालको शैलीसँग तुलना गर्दै सरकार निरङ्कुश प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाए।

ढुंगानाले लोकतन्त्रमा कुनै पनि व्यक्तिलाई पक्राउ गर्दा कानुनी प्रक्रिया र पारदर्शिता अनिवार्य हुने उल्लेख गर्दै सरकारले किन र कुन आधारमा यस्तो कदम चाल्यो भन्नेबारे संसदलाई जानकारी गराउनुपर्ने बताए। उनले प्रधानमन्त्री र गृहमन्त्री स्वयं सदनमा उपस्थित भएर चोलेन्द्र पक्राउ प्रकरणबारे स्पष्ट जवाफ दिनुपर्ने माग गरे।

‘पञ्चायतकालमा सिभिल ड्रेसमा आएर बिना जानकारी गिरफ्तारी गरिन्थ्यो। आज लोकतान्त्रिक व्यवस्थामा पनि त्यस्तै दृश्य देखिनु चिन्ताको विषय हो,’ उनले भने, ‘सरकार दुई तिहाइको दम्भमा स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेको हो कि भन्ने आशंका बढेको छ।’

सांसद ढुंगानाले सरकारले सुशासनको नारा दिए पनि व्यवहारमा कानुनको शासनको उपहास भइरहेको आरोप लगाए। कुनै पनि संवेदनशील घटनाबारे संसद र जनतालाई जानकारी दिनु सरकारको संवैधानिक दायित्व भएको स्मरण गराउँदै उनले त्यसतर्फ सरकार गम्भीर नदेखिएको बताए।

उनले बाढीपहिरोबाट प्रभावित नागरिकहरूको अवस्थाबारे पनि सरकार पर्याप्त रूपमा जवाफदेही नबनेको आरोप लगाए। शून्य समयमा उठाइएका जनचासोका विषयमा समेत सुनुवाइ नभएको भन्दै उनले विपद् व्यवस्थापन र राहत वितरणबारे सरकार मौन बसेको टिप्पणी गरे।

सरकारले लोकतान्त्रिक मूल्य, संविधान र नागरिक अधिकारको सम्मान नगरे देश गम्भीर संकटतर्फ धकेलिन सक्ने चेतावनी दिँदै ढुंगानाले लोकतन्त्रको रक्षाका लागि नागरिक र युवा पुस्ता सचेत रहेको बताए। उनले सरकारलाई आलोचनालाई ग्रहण गर्दै आफ्नो कार्यशैली सुधार्न आग्रह गरे।