अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महिला तथा सामाजिक सुरक्षासम्बन्धी ऐन संशोधन विधेयकमाथि विचार गर्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत

महिला तथा सामाजिक सुरक्षासम्बन्धी ऐन संशोधन विधेयकमाथि विचार गर्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत


काठमाडौँ-प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ स्वीकृत गरेको छ।

प्रतिनिधिसभाको आजको बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले प्रस्तुत गरेको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो।

प्रस्ताव प्रस्तुत गर्दै मन्त्री बादीले मन्त्रालयको नाम परिवर्तनसँगै सामाजिक सुरक्षाको जिम्मेवारीसमेत थपिएकाले आवश्यक कानुनी एकरूपताका लागि विधेयक ल्याउनुपरेको बताइन्।

यसअघि उक्त प्रस्तावमाथिको छलफलमा भाग दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अफ्साना बानुले महिलाको सम्मान र सशक्तीकरणबिना राष्ट्रको समृद्धि सम्भव नरहेको उल्लेख गर्दै प्रस्तावित विधेयकमा पूर्ण समर्थन रहेको बताइन्।

राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद यज्ञमणि न्यौपानेले विधेयकले राज्यले न्याय दिन सक्ने अनुभूति गराएको बताए ।

नेपाली कम्युनिष्ट पार्टीका सांसद परशुराम तामाङले विधेयक ल्याउँदा त्यसको औचित्य र कारणमा स्पष्ट हुनुपर्ने धारणा राखे ।

यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद टुकाभद्रा हमालले असहाय नागरिक, अपाङ्गता र एकल महिलालाई सामाजिक सुरक्षा भत्ताको निरन्तरता हुनुपर्ने बताइन् ।

बैठकमा सांसदहरू अम्बिकादेवी सङ्ग्रौला, गणेशबहादुर विश्वकर्मा, ज्ञानु पौडेल, गुरुप्रसाद बराल, सुशीला ढकाल (आचार्य), साजिदा खातुन सिद्धिकी, लालविक्रम थापा, बिश्वराज पोखरेल र पार्वती विकले विधेयकमाथिको छलफलमा भाग लिई आ–आफ्ना धारणा राखेका थिए ।