काठमाडौं-नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा सडक सञ्जाल विच्छेद हुँदा नागरिकले भोग्नुपरेको समस्याप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सांसद कर्णले बाढीपहिरोका कारण सडक ठाउँ–ठाउँमा भत्किँदा तत्काल मर्मत गरी सञ्चालन गर्न सक्ने अवस्था नरहेको बताइन् । सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित भएर बजारमा महँगी बढ्न थालेको उनको भनाइ छ ।
‘निरन्तरको वर्षाले सडक सञ्जाल विच्छेद भएका छन्, जसले गर्दा बजारमा महँगी बढेको छ । नागरिकले दैनिक उपभोग्य वस्तुसमेत सहज रूपमा पाउन सकिरहेका छैनन्,’ उनले भनिन् ।
सडक सञ्जाल अवरुद्ध हुँदा अत्यावश्यक वस्तुको आपूर्तिमा गम्भीर असर परेको भन्दै कर्णले सरकारसँग वैकल्पिक आपूर्ति व्यवस्थाबारे स्पष्ट योजना माग गरिन् ।
‘सडक सञ्जाल बन्द भएको अवस्थामा नागरिकलाई सहज रूपमा आवश्यक वस्तुको आपूर्ति गर्ने सरकारको ठोस योजना के छ? म यसको स्पष्ट जवाफ चाहन्छु,’ उनले प्रश्न गरिन् ।
वर्षाका कारण सडक अवरुद्ध हुँदा नागरिकको जनजीवन थप कष्टकर बन्दै गएको र यसैको फाइदा उठाउँदै कालोबजारी बढ्न सक्ने जोखिमसमेत रहेको उनले बताइन् । यस्तो अवस्थामा सरकारले तत्कालीन राहतसँगै दीर्घकालीन समाधानका लागि प्रभावकारी योजना बनाउनुपर्नेमा उनले जोड दिइन्।



प्रतिक्रिया