काठमाडौँ-इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि नेपाल आयल निगमले खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ।
निगमका अनुसार आईओसीबाट प्राप्त नयाँ मूल्यसूचीमा पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ ४४ पैसा, डिजेलमा २० रुपैयाँ २१ पैसा, मट्टीतेलमा १५ रुपैयाँ ९६ पैसा र हवाई इन्धनमा १८ रुपैयाँ ६६ पैसा बढेर आएको छ। यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ८१ रुपैयाँ ३२ पैसा बढेर आएको निगमले जनाएको छ।
नयाँ मूल्यअनुसार मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमा करिब ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ घाटा हुने निगमको अनुमान छ।
तर, हालैको बाढीपहिरोबाट प्रभावित नागरिकको अवस्था, चाडपर्वको समय तथा आम उपभोक्ताको हितलाई ध्यानमा राख्दै तत्काल पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य नबढाउने निर्णय गरिएको निगमले जनाएको छ।
निगमको निर्णयसँगै पेट्रोल र डिजेलको मूल्य साविककै कायम रहनेछ। क्षेत्रअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ ५० पैसादेखि २०० रुपैयाँसम्म र डिजेलको मूल्य पनि यसअघि कायम रहेको दरमै रहनेछ। खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ नै कायम रहने निगमले जनाएको छ।
निगमले चाडपर्वको समयमा उपभोक्तालाई थप आर्थिक भार नपरोस् तथा बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत होस् भन्ने उद्देश्यले तत्काल मूल्य समायोजन नगरेको जनाएको छ।



प्रतिक्रिया