अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पर्यटकीय क्षेत्र छनोटले पलाएको आशा

पर्यटकीय क्षेत्र छनोटले पलाएको आशा


इलाम- गत वर्षमा भ्रमण वर्ष-२०२० का अवसरमा सरकारले १०० पर्यटकीय क्षेत्र छान्यो । नयाँ पर्यटकीय क्षेत्र भन्दै सरकारले पर्यटकीय क्षेत्र छनोट गरे पनि कोरोनाले भ्रमण वर्ष त्यति फलदायी हुन सकेनन् । छनोटमा परेका पर्यटकीय क्षेत्रको प्रवद्र्धनको पाटो राम्ररी नै सप्रियो ।

अहिले पनि धेरै पर्यटक यो क्षेत्रमा पुग्छन् । गत वर्ष जिल्लाको एक मात्र पर्यटकीय क्षेत्र छनोटमा परेको थियो । सन्दकपुरस्थित माईपोखरी ताल छनोटमा परेकाले अहिले पनि यस क्षेत्रमा पर्यटकको बाक्लो उपस्थिति हुने गर्छ । बाह्य मात्र नभई आन्तरिक पर्यटकको धेरै चाप अहिले परिरहेको छ । हुन त माईपोखरी रामसार क्षेत्रमा सूचीकृत पर्यटकीय एवं जैविक महत्व बोकको क्षेत्र हो ।

धार्मिक महत्वसमेत झल्कने भएकाले यहाँ धेरै पर्यटक पुग्न थालेका छन् । पछिल्लो समयसमेत सरकारले छनोटमा राखेपछि माईपोखरीको प्रवद्र्धन अझै बढ्ने पर्यटन व्यवसायीको बुझाइ छ । सरकारले केही दिनअघि मात्रै देशभरका २०० पर्यटकीय क्षेत्र छनोट गरिएको छ । यसमा समेत माईपोखरी परेपछि पर्यटकीय प्रवद्र्धनमा अझै राहत मिलेको पर्यटन व्यवसायीको भनाइ छ । माईपोखरी र जोरपोखरीको विकासका लागि सरकारले रकम नै विनियोजन गरेको छ । भौतिक विकास हुन नसकेको माईपोखरीमा अबका दिनमा विकास गर्न सकिने पर्यटन व्यवसायीको देवी पौड्यालको भनाइ छ ।

माइपोखरी/जोरपोखरी एकीकृत पर्यटकीय पार्क निर्माण सञ्चालन तथा व्यवस्थापनको योजनामा रु एक करोड ५० लाखको लागत साझेदारीमा मन्त्रालयको तीन करोड ५० लाख गरी रु पाँच करोडको योजना संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले सार्वजनिक गरेको छ ।

मन्त्रालयले पर्यटन पूर्वाधार तथा पर्यटनउपजको विकास तथा प्रर्वद्धन गर्ने उद्देश्यले पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी निर्देशिका २०७७ अनुसार लागत साझेदारीमा यी योजना सार्वजनिक गरिएको जनाएको छ ।

यस्तै, सरकारले जिल्लाको अर्को नयाँ पर्यटकीय गन्तव्य देउमाइ नगरपालिकास्थित पानीटार पर्यटन विकास तथा सिद्धिथुम्का टावर पार्क निर्माणमा पनि रकम विनियोजन गरेको छ । पानीटार चियाबारी र वनभोजका लागि प्रख्यात छ ।

पछिल्लो समय चलचित्र र म्युजिक भिडियो सुटिङ हुने भएकाले आन्तरिक पर्यटकको आगमन बढेको छ । यस्तै यसै क्षेत्रमा पर्ने सिद्धिथुम्का टाकुरा सूर्योदय हेर्नका प्रख्यात मानिन्छ । सरकारले यी दुईवटै पर्यटकीय क्षेत्र जोडेर एकीकृत विकास गर्न लागेको छ । यसका लागि रु ५० लाख लागत साझेदारी र मन्त्रालयको रु ९४ लाख लागत गरी रु एक करोड ४४ लाख विनियोजन गरिएको छ ।

सरकारले जिल्लाबाट उपेक्षा गरेका पर्यटकीय क्षेत्र पनि यसपटक सरकारको चासोमा परेका छन् । जिल्लाका दक्षिणी भेग माई नगरपालिकाको माई पर्या-पर्यटन सिटी विकास परियोजनाका लागि रु दुई करोड ४५ लाखको लागत साझेदारीमा मन्त्रालयको रु चार करोड ५५ लाखको लागत गरी रु सात करोडको योजना सार्वजनिक गरिएको छ । चुलाचुली गाउँपालिकास्थित शिवओरक मिलन पोखरी पर्यटन क्षेत्र निर्माणका लागि रु एक करोड ५० लाख लागत साझेदारीमा मन्त्रालयको रु तीन करोड ५० लाख गरी पाँच करोडको योजना अनुमान गरिएको छ ।

यस्तै झापाका सीमावर्ती क्षेत्र माई नगरपालिका र चुलाचुली गाउँपालिका भएकाले जिल्लाका पर्यटन व्यावसायीको चासोमा यी पर्यटकीय गन्तव्य पर्दैनथ्यो । स्थानीय तहमा जनप्रतिनिधि आएपश्चात् पर्यटकीय गन्तब्य पहिचान भएका यी क्षेत्रमा केन्द्रीय सरकारको ठूलो हिस्सा रकम विनियोजन हुँदा उल्लेखनीय उपलब्धि हासिल हुने अनुमान छ । रासस