अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अलिबाबामाथि १ अर्ब डलर जरिवाना गर्ने चीनको तयारी

अलिबाबामाथि १ अर्ब डलर जरिवाना गर्ने चीनको तयारी


बेइजिङ- चीनले ई-कमर्श क्षेत्रको शक्तिशाली कम्पनी अलिबाबामाथि एकाधिकार नियमहरू उल्लङ्घन गरेको आरोपमा झण्डै एक अर्ब डलर जरिवाना गर्न लागेको समाचार सार्वजनिक भएको छ ।

यो रकम चीनमा कुनै पनि कम्पनीमाथि भएको आजसम्मकै सबैभन्दा ठूलो जरिवाना हो । यसअघि सन् २०१५ मा अमेरिकी चिप निर्माता कम्पनी क्वालकमले ९७ करोड ५० लाख डलर जरिवाना तिरेको थियो । क्वालकममाथि चीनमा प्रतिस्पर्धा रोक्ने कार्यमा अवरोध पु¥याएको आरोप लागेको थियो ।

अमेरिकी अखबार वाल स्ट्रिट जर्नलमा बिहीबार अलिबाबामाथिको जरिवाना सम्बन्धी समाचार छापिएको थियो । त्यसलगत्तै एएफपीले अलिबाबाका विषयमा चिनियाँ अधिकारीहरूसँग सम्पर्क गर्दा उनीहरूले यसबारेमा केही बताउन चाहेनन् ।

चीनको सबैभन्दा ठूलो अनलाइन सपिङ पोर्टलका रुपमा स्थापित अलिबाबामाथि चिनियाँ अधिकारीहरुले केही महिनादेखि अनुसन्धान र छानबिन गरिरहेका छन् । यो कम्पनी हरेक चिनियाँका लागि सामान खरिद र ढुवानीका लागि निकै भरपर्दो र लोकप्रिय माध्यम बनेको छ ।

तर अलिबाबाका संस्थापक अर्बपति व्यापारी ज्याक मा ले गत वर्ष अक्टोबरमा चिनियाँ नियामक निकायका गतिविधिमाथि आलोचना गरेपछि उहाँ र उहाँका व्यवसाय सरकारी निकायहरूको आँखाका तारो बनेका छन् ।

गत नोभेम्बरमा चिनियाँ वित्तीय नियामक निकायहरूले अलिबाबाको अनलाइन भुक्तानीसम्बन्धी सहायक कम्पनी ‘एन्ट ग्रुप’ ले सार्वजनिक गर्न लागेको ३५ अर्ब डलरको हङकङ–शाङ्घाई प्रारम्भिक शेयर निश्कासनलाई रोकिदिएका थिए ।

त्यसको एक महिनापछि अधिकारीहरुले अलिबाबाको व्यावसायिक गतिविधिको फाइलमाथि अनुसन्धान शुरु गरे । त्यही समय स्वयं ज्याक मा मध्य जनवरीसम्म सार्वजनिक रुपमा कतै देखा पर्नु भएन ।

चीनको पूर्वी शहर हान्झाउमा रहेको अलिबाबा कम्पनीले गत महिना राज्य प्रशासनका अधिकारीहरूलाई अनुसन्धानमा पूर्ण सहयोग गर्ने बताएको थियो ।

जर्नलका अनुसार अनुसन्धान अधिकारीहरुले अलिबाबाले आर्जन गरेको सम्पत्ति अन्य असम्बन्धित क्षेत्रमा प्रवाह गरिरहेको छ छैन भन्ने खोजी गरिरहेका छन् । अलिबाबाका प्रवक्ताले उक्त घटनाका बारेमा पनि केही बताउन चाहेनन् ।

अलिबाबामाथि आफूसँग आबद्ध व्यापारीहरूलाई अन्य प्रतिस्पर्धी ई–कमर्श कम्पनीमा सूचीकृत हुन रोक्दै आएको आरोप छ ।