अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब घरमै बसेर विदेशी पुस्तक र जर्नल निःशुल्क पढ्न पाइने

अब घरमै बसेर विदेशी पुस्तक र जर्नल निःशुल्क पढ्न पाइने


काठमाडौं- त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयले अनलाइनमार्फत विद्यार्थीलाई घरमै बसेर विदेशका पुस्तक निःशुल्क पढ्ने व्यवस्था गरेको छ ।

पुस्तकालयले रिमोट एक्सेस प्रणालीको विकास गरेर घरमै बसेर पुस्तक, डकुमेन्ट, जर्नल पढ्न व्यवस्था गरेको हो । पुस्तकालयले रिमोट एक्सेस सेवासहितको प्रोक्वेस्ट डाटाबेस सफट्वेयर जडान गरी विदेशमा रहेका पुस्तक पढ्ने व्यवस्था गरेको हो ।

बेलायतबाट उक्त सफ्टवेयर पुस्तकालयले ३२ लाख रुपैयाँमा खरिद गरेको हो । पुस्तकालयले त्रिविअन्तर्गतका आङ्गीक क्याम्पस र पुस्तकालयसँग सम्झौता गरेका अन्य विश्वविद्यालयका विद्यार्थीलाई प्रोक्वेस्ट डाटाबेस सफट्वेयरबाट निःशुल्करूपमा पुस्तक पढ्ने व्यवस्था गरिएको पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठले जानकारी दिनुभयो ।

सोही फाराम भरेका आधारमा विद्यार्थीको इमेल आइडी उपलब्ध गराई पुस्तकालयले विदेशी पुस्तक, डकुमेन्ट, जर्नललगायत पढ्न पाउने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो ।

गत मङ्सिरबाट शुरु भएको रिमोट एक्सेस प्रणालीमा अहिले ३० हजार विद्यार्थीको इमेल आइडी बनाइएको छ । पुस्तकालयका सूचना अधिकारी विजय शर्माले विद्यार्थीलाई घरमै बसेर विदेशका प्रसिद्ध लेखकले लेखका सामग्री पढ्न पाउने बताउनुभयो ।

उहाँका अनुसार उक्त रिमोट एक्सेसमार्फत प्रोक्वेस्ट डाटाबेशमा राखिएका चार लाख ५० हजारभन्दा बढी ई-पुस्तक, ५० लाखभन्दा बढी ई-थेसिस डिजर्टेशनका साथै हजारौँ शीर्षकका जर्नल, पत्रिका र लेख, रचना रहेका छन् ।

उक्त सेवाका लागि नेपाल खुला विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, हेटौँडा कलेज अफ सोसल साइन्सेस, सगरमाथा इञ्जिनीयरिङ कलेज, बानेश्वर बहुमुखी क्याम्पस संस्थागतरुपमा पुस्तकालयले खरीद गरेको डाटाबेससँग जोडिएका छन् ।

यस्तै, पुस्तकालयले पछिल्लो समय एशियन विकास बैंक र नेशनल डिजिटल लाइब्रेरी अफ इण्डियासँग ई-रिसोर्सेसको प्रयोगमा सम्झौता र सहकार्य गरेको छ ।

उक्त सम्झौतानुसार एशियन विकास बैंकसँग रहेका तीन लाख रिर्सोस पुस्तक र डिजिटल लाइब्रेरीसँग रहेका चार करोड ५० लाख ई–पुस्तकालय, जर्नल, थेसिस, अडियो, भिडियोसमेत निःशुल्क पढ्न पाउने सूचना अधिकारी शर्माले जानकारी दिनुभयो । अहिले पुस्तकालयसँग चार लाख १० हजार पुस्तक छन् ।