अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशभर ७६७ किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर जडान

देशभर ७६७ किलोमिटर क्षेत्रमा अप्टिकल फाइबर जडान


काठमाडौं- देशभर सूचना महामार्ग (अप्टिकल फाइबर व्याकबोन नेटवर्क) विस्तारको परियोजनाअन्तर्गत हालसम्म ७६७ किलोमिटर क्षेत्रमा फाइबर जडान सम्पन्न गरिएको छ ।

नेपाल दूरसञ्चार प्राधिरकणले दुई वर्षभित्रमा महामार्ग विस्तार गरिसक्ने भन्दै शुरु गरेको योजनाअन्तर्गत फागुन मसान्तसम्म ३५ दशमलव १९ प्रतिशत मात्रै जडान सम्पन्न भएको छ ।

पहिलो खण्डअन्तर्गत प्रदेश नम्बर १, २ र वाग्मती प्रदेशमा फाइबर बिछ्याउने जिम्मा पाएको नेपाल टेलिकमले उक्त क्षेत्रमा फाइबर जडान सम्पन्न गरेको हो ।

सम्झौताअनुसार टेलिकमले तीन प्रदेशमा दुई हजार १७९ किलोमिटर फाइबर बिछ्याउनुपर्दछ । प्राधिकरणले मध्यपहाडी लोकमार्गको छ हजार ३३१ किलोमिटर क्षेत्रमा फाइबर बिछ्याउने योजनालाई तीन खण्डमा विभाजन गरेर तीन छुट्टाछुट्टै कम्पनीलाई जिम्मा दिएको थियो ।

तीन खण्डमध्येमा एक खण्डमा विस्तारको काम भए पनि दुई खण्डको काम शुरु हुनै सकेको छैन । प्राधिकरणले पहिलो खण्डअन्तर्गत नेपाल टेलिकमसँग पूर्वी नेपालदेखि गोरखासम्म फाइबर बिछ्याउन २०७३ साल असोज १२ गते दुई वर्षको सम्झौता गरेको थियो ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल टेलिकमले २०७६ जेठ पहिलो सातादेखि अप्टिकल फाइबर बिछ्याउने काम सुरू गरेको बताउनुहुन्छ । उहाँका अनुसार पहिलो खण्डअन्तर्गतका तीन प्रदेशमा टेलिकमले अप्टिकल फाइबर बिछ्याउन, सामान खरीदलगायतका काम गर्न पाँच कम्पनीलाई जिम्मा दिएको छ।