अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण, क्षेत्रीय शान्तिमा फेरि खतरा

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण, क्षेत्रीय शान्तिमा फेरि खतरा


काठमाडौं- उत्तर कोरियाले केही दिनको अन्तरालमा दुई पटक क्षेप्यास्त्र परीक्षण गरेर फेरि छिमेकी मुलुक र पश्चिमा जगतलाई झस्काएको छ ।

अन्तर्राष्ट्रिय प्रतिबन्धहरुको स्वाभाविक रुपमा उल्लङ्घन गर्दैै उत्तर कोरियाले विकास गरेका यी क्षेप्यास्त्र नियन्त्रित र निकै उन्नत रहेको भनाई सार्वजनिक भएको छ ।

एक वर्षको अवधिमा गरिएको यो पहिलो प्रक्षेपक (ब्यालिस्टिक) क्षेप्यास्त्र परीक्षण हो । अझ संयुक्तराज्य अमेरिकामा राष्ट्रपति जो बाइडेनले सपथ लिएपछि “हामी यहाँ छौं” को शैलीमा उत्तर कोरियाले एकपछि अर्को क्षेप्यास्त्र परीक्षण गरेर आफूलाई नजरअन्दाज नगर्न साङ्केतिक चेतावनी पनि दिएको छ ।

बाइडेन प्रशासनले तत्कालै चेतावनी पनि दिएको छ, हामी कोरियाली द्वीप क्षेत्रमा उत्तर कोरियाले तनावको वातावरण सिर्जना गर्नेक्रम नरोके त्यसको उचित सम्बोधन गरिने छ ।

उत्तर कोरिया मामिलालाई एक मुख्य कार्यसूची बनाएर बाइडेन प्रशासनका दुई प्रमुख व्यक्तिहरु अर्थात् विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिनले गत साता जापान र दक्षिण कोरियाको संयुक्त भ्रमण गरिसक्नु भएको छ । यो उहाँहरुको पहिलो विदेश भ्रमण पनि हो ।

चीनको बढ्दो सामरिक प्रभाव र उत्तर कोरिया मामिलालाई सम्बोधन गर्न अमेरिकाका परम्परागत गठबन्धनलाई अझ बलियो बनाउनेतर्फ यो भ्रमण केन्द्रित रहेको थियो । यहीबीच दक्षिण कोरिया र अमेरिकी सेनाले सीमित किसिमको सिमुलेसन विधिबाट संयुक्त सैन्य अभ्यास पनि गरेका छन् भने दक्षिण कोरियामा अमेरिकाले गर्ने सैन्य खर्चको विषयमा पनि सहमति जुटेको छ ।

अर्थात् बाइडेन प्रशासनले उत्तर कोरिया मामिलामा वार्ता वा थप दबाब के गर्ने भन्ने स्पष्ट सन्देश नदिएसँगै उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षण र आधुनिक हातहतियार देखाउन थालेको छ । यद्यपी न्यूयोर्क टाइम्सका पत्रकार चो साङ–हुनले अमेरिकाले आणविक अस्त्र कार्यक्रम त्याग्न उत्तर कोरियामाथि प्रतिबन्ध र संवादका दुबै प्रयत्नलाई निरन्तरता दिन सक्ने बताएका छन् ।

उत्तर कोरियाका हतियार विकास प्रमुख रि प्योङ–चोलले शनिबार “संयुक्तराज्य अमेरिकाले आफ्नो मुलुकमाथि सम्भावित परिणामको बेवास्ता गर्दै मूर्खतापूर्ण टिप्पणी गरिरहे त्यसको परिणाम भिन्न हुने चेतावनी” दिनु भएको छ । उत्तर कोरियाली अधिकारीबाट आएको यो चेतावनी नयाँ र नौलो भने होइन । दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासको पूर्वसन्ध्यामा उत्तर कोरियाली नेता किम जङ–अनकी बहिनी किम यो–जोङले आणविक अस्त्रको विषयमा “दुर्गन्ध नफैल्याउन” अमेरिकालाई चेतावनी दिनु भएको थियो ।

चेतावनीले केही भएन

उत्तर कोरिया र संयुक्तराज्य अमेरिका एवं दक्षिण कोरियाबीच भएका धाकधम्की, प्रतिबन्ध र एक्ल्याउने जस्ता वर्षौंदेखिका कुनै पनि नीतिहरु सफल भएका देखिन्नन् । बरु, देशभित्र उत्पन्न आर्थिक, भोकमरि, बेरोजगारी समेतका अनेक चुनौतीबीच उत्तर कोरियाले नेता किम जङ-अनको नेतृत्वमा अझ बढी शक्तिशाली, आधुनिक र समुन्नत क्षेप्यास्त्र प्रणाली तिब्र गतिमा विकास र विस्तार गरिरहेको छ ।

अन्तर महादेशीय क्षेप्यास्त्र प्रणाली विकास गरेर सफल परीक्षण गरेको दाबी गरेलगत्तै यसबाट संयुक्तराज्य अमेरिका र छिमेकी मुलुकहरु खासगरी दक्षिण कोरिया र जापानमा ठूलै तनावको वातावरण सिर्जना गरेको छ । यी क्षेप्यास्त्रले आणविक हातहतियार बोक्न सक्ने र निश्चित विन्दुमा अचूक निशाना लगाउन सक्ने उत्तरको दाबी छ ।

न्यूयोर्क टाइम्स अखबारका अनुसार, उत्तर कोरियाले सन् २००६ देखि २०१७ को बीचका झण्डै ११ वर्षको अवधिमा छ पटक आणविक परीक्षण सफलतापूर्वक सम्पन्न गरिसकेको छ । यीमध्ये पछिल्ला चार वटा परीक्षण नेता किम जङ–अनकै शासनकालमा भएका छन् । सन् २०१७ को सेप्टेम्बरमा अन्तिम पटक आणविक परीक्षण गरिएको र यो सर्वाधिक शक्तिशाली रहेको अनुमान गरिएको थियो ।

वैज्ञानिक अनुसन्धानमा यस पटकको परीक्षणमा ५० देखि ३०० किलोटनको बिस्फोटक क्षमता थियो । अर्थात् १०० किलोटन बिस्फोटकको क्षमता हिरोशिमामा सन् १९४५ मा खसालिएको आणविक बमभन्दा छ गुणा बढी शक्तिशाली मानिन्छ ।