अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

…त्यसपछि हाम्रो गाडीलाई एम्बुलेन्स बनायौं

…त्यसपछि हाम्रो गाडीलाई एम्बुलेन्स बनायौं


काठमाडौं- गत वर्ष नगरपालिका संघले गरेको मूल्यांकनमा ‘सहरी सेवा प्रवाह तथा सुशासन’ शीर्षकमा देशकै उत्कृष्ट नगरपालिका हो तिलोत्तमा । यो नगरले गत वर्ष पनि कोरोनाको नियन्त्रण तथा व्यवस्थापनमा उत्कृष्ट काम गरेको भनेर प्रशंशा पाएको थियो ।

यसपालि नगरमा बिरामी बढ्दै गएपछि यहाँका मेयर/उपमेयरले चढ्ने गाडीलाई बिरामी बोक्नका लागि प्रयोग गरिने भएको छ । सुन्दा सामान्य लाग्ने भए पनि उहाँहरूको यो निर्णयले देशैभरी चर्चा पाएको मात्र छैन अन्यतिरका जनप्रतिनिधिले पनि यसको अनुसरण गर्नुपर्ने अवस्था आएको छ । हामीले मेयर वासुदेव घिमिरेलाई नगरपालिकामा कोरोना कहर कस्तो छ? नगरपालिकाको तयारी के छ? आफूले चढेको सरकारी गाडी किन एम्बुलेन्सको रूपमा प्रयोग गर्नुपर्‍यो? लगायत प्रश्न सोधेका छौँ । यी सबै कुराको जवाफ मेयर घिमिरेकै शब्दमा :

तिलोतमा नगरपािलका भारतीय सिमा भन्दा १६ किलोमिटर उत्तरमा पर्दछ । यो शहरीकरण उन्मुख नगरपालिका हो । त्यस कारण यहाँ पहाडका अतिरिक्त वल्लो पल्लो पालिकाहरुबाट बसाईं सरेर आउने दर उच्च छ । यहाँको जनसंख्या अहिले १ लाख २५ हजार जति छ ।

कोरोनाका दोस्रो लहर चैत अन्तिमतिर देखि यहाँ देखिन थाल्यो । बैशाख १ गते यो नगरपालिकामा छ जना कोरोना संक्रमित थिए । पछिल्लो एक सातामा दैनिक २ सय जनाका दरले बिरामी बढेका छन् । कोही निको भएर गए । अहिले नगरपालिकामा १हजार ४ सय जना सक्रिय संक्रमित छन् । कोरोनाको पहिलो चरणमा यस नगरपालिकाले ३० जना नगरबासीलाई गुमायो भने दोस्रो लहरमा ६ जनाको कोरोनाले मृत्यू भइसकेको छ ।
कोरोनाको प्राथमिक उपचार नगरपालिका आफैंले गर्ने गरेका छौं ।

वडा नं २ को स्वास्थ्य चौकीलाई अस्थायी कोरोना अस्पताल बनाएका छौं । यसलाई बैशाख १ गतेबाट कोरोना अस्पतालको रुपमा प्रयोग गरेका हौं । यहाँ ४० वटा बेड छन् अक्सिजन सहितका । यहाँ नगरपालिकाले नियुक्त गरेर एक जना एमबिबिएस डाक्टरलाई उपचारको जिम्मा दिएका छौं । उहाँलाई साथ दिने अरु नौ जना स्वास्थयकर्मी हुनुहुन्छ । कतिपय स्वास्थ्यकर्मी आवश्यकता अनुसार पनि उपचार गर्न आउजाउ गर्नुहुन्छ ।

अस्तीसम्म नगरपालिकाको यो अस्पतालमा २२ वटा बेड मात्र भरिएका थिए । हिजो बेलुकादेखि सबै बेड भरिए । संक्रमण बढ्दै गएपछि नगरपालिकाको सभाहललाई पनि हामीले कोभिडको उपचार केन्द्रको रुपमा विकास गरेका छौं । यसलाई अस्थायी कोरोना अस्पताल विल्डिङ २ भनेर सञ्चालन गरेका छौं । यसमा ६० वटा अक्सिजन सहितका बेड राखेका छौं । यसो गरेपछि १ सय वटा बेड नगरपालिकाको आफ्नै भयो ।

जटिल बिरामीका लागि आईसीयू, भेन्टिलेटर चाहियो । त्यसका लागि नगरपालिकाले सबै व्यवस्थापन गर्न सक्दैन । यसका लागि नगरपालिका भित्रै क्रिमसन नामको अस्पताल छ । त्यसपछि बुटवलमा धागो कारखानामा सञ्चालन भएको कोरोना अस्थायी अस्पताल छ । त्यहाँ पठाउछौँ । अनि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा छ । त्यहाँ पठाउछौँ । अनि भैरवहाको भीम अस्पताल पठाउछौँ । अलि हुने खानेले हेलिकोप्टर लिएर काठमाडौं पनि लैजान्छन् ।

नगरपालिकाले स्रोतसाधनले भ्याउन सक्नेसम्म काम गरेको छ । नगरपालिकाले आफैँ भेन्टिलेटर बनाउँछु, आईसीयू अहिले भर्खरै बनाउँछु भनेर नहुँदो रहेछ । पूर्वाधार त बनाउन सकिएला तर जनशक्ति तत्कालै व्यवस्थापन हुन सक्दैन । नत्र कोरोनाको अघिल्लो लहरमै हामीले यो कुरा सोचेका थियौं ।

अनि गाडीलाई एम्बुलेन्सको रूपमा प्रयोग गर्‍यौँ

हामीसँग दुई वटा एम्बुलेन्स छन् । नगर स्वास्थ्य चौकीका नाममा । एउटा अलि पुरानो छ । कतिबेला चल्ने, कतिबेला बिग्रने अवस्थामा छ । अर्को भारतीय राजदूतावासले दिएको नयाँ छ । अहिले अवस्था कस्तो आयो भने एकैदिन एउटै एम्बुलेन्स २० ठाउँमा पुग्नुपर्ने भयो । दुई वटा मात्र एम्बुलेन्सले यो माग नधानेपछि बाहिरको एम्बुलेन्सलाई फोन गर्‍यो भनेको बेलामा आइदिन्न । अरू गाडीले संक्रमित बोक्दैनन् त्यसले गर्दा त समस्या भयो । यसलाई कसरी समाधान गर्ने त भनेको बरू आफ्नै गाडी दिऔं भनेर उपमेयरसँग मैले सल्लाह गरें । अहिले कार्यक्रम हुदैनन्, भेला र गोष्ठी हुँदैनन् । त्यसैले हामीले धेरै हिँडिरहनु पर्ने छैन ।

अफिस आउनजान साइकल, स्कुटर चढौंला । अहिलेलाई बिरामी बोक्नका लागि हामीले चढेका गाडी दिऔं भनेर सल्लाह भयो । त्यहीअनुसार मैले चढेको लु१झ ३६० नम्बरको र उपमेयर जगेश्वर देवी चौधरीले चढेको लु१ झ ३२६ नम्बरको स्कपियो नगर स्वास्थ्य चौकीलाई तत्कालका लागि हस्तान्तरण गरेका हौं । गाडीमा आजबाट अक्जिन फिट गरेर बिरामी बोक्नका लागि प्रयोग हुन थालेका छन् ।

मजदुर काममै, राहतको छैन चिन्ता

हाम्रो नगरपालिकामा सरसर्ती हेर्दा मजदुरी गरेर खाने वर्गमा कोरोनाको प्रकोप न्यून छ । ज्याला मजदुरी गर्ने, खेतमा काम गर्ने किसान आदिलाई कोरोनाले कम प्रभाव पारेको छ । यसको कारण चाँहि उहाँहरूले सावधानी अपनाउनु भएको छ । उहाँहरू अनुशासनमा बस्नु भएर हो जस्तो लाग्छ । उहाँहरू खेतमा काम गर्नुहुन्छ घरमा आएर बस्नुहुन्छ । मजदुरहरू निर्माण स्थलमा जानुहुन्छ डेरामा आएर बस्नुहुन्छ । घर बनाउने, सडक बनाउने अथवा नाली बनाउने वा अरू कुनै पूर्वाधारका काम गरिरहेका मजदुरहरूलाई काम गर्ने ठाउँ नजिकै बसोबासको व्यवस्था सम्बन्धित निर्माण कम्पनीले गरेको छ । त्यहाँ बाहिरबाट कसैलाई प्रवेश गर्न दिइएको छैन । त्यहाँ काम गर्नेहरूलाई पनि बाहिर जान दिइएको छैन ।

संघका, प्रदेशका र पालिका तहले गर्ने विकास निर्माणका कामको अन्तिम अन्तिम भएकोले निर्माणको काम रफ्तारमै चलेका छन् । अहिले कसैको छाकै बसेको अवस्था छैन । त्यसैले अहिले हामीले राहात वितरणको बारेमा सोचेका छैनौ । गत वर्ष आत्तिएर झण्डै ८० लाख रुपैयाँ बराबरको राहात बाँडिएछ । तर, यसपालि कोरोना बढ्दै गएपछि निर्माण कम्पनीहरूले आवश्यक पर्ने निर्माण सामग्री स्टक राखेका छन् । मजदुर पनि बाहिरफेर नगइ आफ्नै साइटमा बसेका छन् । त्यसले गर्दा गत वर्ष जस्तो भोकमरी लाग्यो भनेर भयाभहको अवस्था भएको छैन ।

संक्रमितलाई किट प्याक

कोरोना भएर घरमै बसिरहेका संक्रमितका लागि नगरपालिकाले किट प्याकको प्रवन्ध गरेको छ । सकेसम्म बिरामी भएको थाहा पाएपछि यो किट प्याक लिएर बिरामीको घर पुग्ने गरी १७ वटै वडाहरूमा टिम बनाएका छौँ । टिममा वडाका प्रतिनिधि, स्वास्थ्यकर्मी हुनुहुन्छ । प्याकमा सिटामोल, भिटामिन, जीवन जल आदि छन् । हामीले भरसक बिरामी भेटेर नसके फोनबाट भए पनि परामर्श गरिरहेका छौँ ।