अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रवासी मदनः याने बाटुलीका बा

प्रवासी मदनः याने बाटुलीका बा


ए मेरा बाटुलीका बुवा मेरो नमस्ते छ
प्रियाका आँशुले हरदम मीठो माया जपेको छ

वि.सं.२०२८-०२९ सालतिर बनारसमा नेपाली क्रान्तिधर्मी लेखक मदनकुमार भण्डारीको एउटा कविता “भर्तीवाले पोइलाई चिठ्ठी” नेपाली पाठक सामु प्रस्तुत हुन्छ । यही चिठ्ठी पढीसकेपछि नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले मदनकुमार भण्डारीलाई बाटुलीका बा भनी सम्वोधन गरेको कुरा मदन भण्डारीका सबैभन्दा नजिकका साथी जगन्नाथ आचार्यले व्यक्त गर्नु भएको छ । यस कवितामा मदन एउटा पुरुषले स्त्री बनी आफ्नो लाहुरमा गएको पोईलाई गाउँको दुःख, वेदना र गरिबीको पीडा बीचमा बाँच्नु परेको यथार्थ प्रस्ट्याएको छ साथै देशको गरिबीको उत्थानका लागि सचेत र सशक्त आह्वान लेखेर प्रकाशित गरेको छ । यसैको प्रभावमा समेत पुष्पलालले मदनलाई बाटुलीका बा भनेर सम्वोधन गरेको कुरा न्यायोचिन देखिन्छ ।

उतिखेर ताप्लेजुङ ढुङ्गेसाँघुको ग्रामीण परिवेश, अशिक्षा र ग्रामीण दोषले ग्रस्त गाउँलेहरुको परस्परका दिनदिनैका झगडाहरुको नकारात्मक प्रभावबाट मुक्ति पाउनका लागि सोझा सिदा गाउँलेहरु झोडा फाँडेर झापा, मोरङ, सुनसरी बसाई सर्न वाध्य भएको कटु यथार्थ उल्लेख गरिरहँदा मदन भण्डारीका बाबुसँग लिम्बूहरुसमेत आएर यस्ता झगडाहरुको साथै सानातिना समस्याहरुको समाधानका उपायहरु खोजी समस्या समाधान गरिदिन आग्रह गर्ने गरेको र यस्तै स्थानीय झै–झगडा शान्त पारिदिन आफ्नो घरमा जम्मा भएका गाउँलेहरुलाई बाबु नआईपुग्दै मदनले आफुलाई बाबु कै ठाउँमा राखेर-सम्झेर ती स्थानीयहरुको समस्या सुल्झाउन म मिलाईदिई हाल्छु भनेर गरेको प्रयासको समेत पृष्ठभूमि वोकेका मदनलाई लेखनमा पनि क्रान्तिधर्मिता अँगाल्न प्रेरित गरेको पाइन्छ ।

चपेटो चिरकट्टो एउटै यहाँ भेटिन्न जस्तो छ
यहाँको हाल यस्तै छ त्यहाँको हाल कस्तो छ

मदनको प्रवास स्मृतिलाई अझ आयामिक बनाउन मदनको बाल्यकालकै स्मृति अगाडि सारिरहँदा, दाजु दिदीहरुले बा वडा बासँग रुद्री चण्डी पढेको पर वसेर खाली सुनेकै भरमा नपढीकन कण्ठ गरेको जसले गर्दा मदनलाई सानै उमेरमा स्कुल पढाउने निर्णय गरिएको स्मृति पाइन्छ । स्कुल पढ्दा पनि गुरुले पढाएको आफू ध्यान लाएर सुन्ने र सुनेर कण्ठ गर्ने । त्यतिले कण्ठ नभए अर्काे गुरुकोमा गएर त्यही कुरो सोध्ने, पटक पटकको सुनाई र बुझाई पछि परिपक्व हुने त्यसपछि अरुका सामु प्रस्तुत हुँदा नाताले, उमेरले ठूलो हुँदैमा योग्य नभईने अकाट्य तर्क राखी आफू त्यसमा निर्णयक रुपमा प्रस्तुत हुने गरेको स्मृति पनि महत्वपूर्ण लाग्छ । यसैमा एक जना लिम्बू लाहुरेले मदनको आमासँग घडी ल्याईदिन्छु भनी एउटा खसी लगेर घडी नल्याई दिएपछि १०–११ वर्षको बालक मदन गएर २ रात हराएर त्यो घडी घर ल्याएको प्रसंङ्ग मदनको निडर चेतनाको प्रष्फुटन हो र यसैबाट पनि सत्य र सही कुरो आफैंमा वलवान हुन्छ भनी स्थापित भएको कुरा प्रष्ट वुझ्न सकिन्छ । यिनै कुराहरु पछि मदनका लेख रचनामा र भाषण समेतमा प्रभावशाली रुपमा उपस्थित भएको पाइन्छ ।

२०२४-०२५ सालको परिवेश नेपालमा राजा महेन्द्रले पञ्चायती शासनलाई दीगो बनाउनको लागी राजनैतिक पार्टीहरुलाई टुटाई फुटाई आफूमा मिलाउने कि कानूनी बन्देज लगाई लखेट्ने जसरी नि सक्ने रणनीति अपनाएका थिए । यसको जवाफको रुपमा भारतको नेपालीहरुले पढ्ने शैक्षिक केन्द्रहरुमा राजा तथा पञ्चायतका विरुद्ध विभिन्न खाले राजनैतिक गतिविधीहरु हुने गर्दथे । वृन्दावन, वनारस, इलाहावाद, पनि त्यतिखेर नेपाली विद्यार्थीहरुको लागि राजनैतिक गतिविधिको केन्द्रको रुपमा स्थापित थियो । यी शैक्षिक केन्द्रहरुमा नेपाली राजनैतिक पार्टीका प्रभावमा आएका विद्यार्थीहरुले विभिन्न खाले साहित्यिक गतिविधीहरु गर्ने र त्यसैका आधारमा राजनैतिक रुपले सचेत र योग्य व्यक्तिहरुलाई आ–आफ्ना राजनैतिक पार्टीका गतिविधीहरुमा सम्लग्न गराउने गर्दथे । उच्च शिक्षा हासिल गर्नका मदनका दाजु मनोज भण्डारी प्रवासमा रहेका थिए र कहिले काहीं घर आउँथे । यसरी घर आउँदा पिताजीले एक पटक मदनलाई पनि पढ्नका लागि उतै लैजानु भनेका हुनाले दाजु मनोजका साथ मदन भण्डारी २०२४–२०२५ सालतिर वृन्दावन पुगेर त्यहाँको ह्याग्रीव सँस्कृत विश्वविद्यालय पढ्न थालेको र पूर्व मध्यमाको विद्यार्थी हुँदा उहाँले यहीं आफ्नो नाम मोतिलालको ठाउँमा मदन कुमार भण्डारी राख्नु भएको ऐतिहासिक तथ्य भेटिन्छ । त्यहीं नै विद्यार्थी संगतमा रहादा नेपाली विद्यार्थीहरुले प्रवासमा पढेर नेपाल फर्किएका ठूल्ठूला व्यक्तित्वहरुले नेपाल फर्कदा पाएका महत्वपूर्ण जिम्मेवारीहरु, मान–सन्मान आदीका बारेमा त्यहाँ देख्न सुन्न पाइन्थ्यो र त्यसैबाट प्रभावित भई अधिकांश नेपाली विद्यार्थीहरुले आफू पनि पढेलेखेर योग्य व्यक्ति बनी ती महत्वपूर्ण जिम्मेवारीहरु सम्हाल्दै देशमा ठूला ठूला काम गर्ने सपना वुन्ने गर्थे ।

उच्च शिक्षा हासिल गर्नका मदनका दाजु मनोज भण्डारी प्रवासमा रहेका थिए र कहिले काहीं घर आउँथे । यसरी घर आउँदा पिताजीले एक पटक मदनलाई पनि पढ्नका लागि उतै लैजानु भनेका हुनाले दाजु मनोजका साथ मदन भण्डारी २०२४–२०२५ सालतिर वृन्दावन पुगेर त्यहाँको ह्याग्रीव सँस्कृत विश्वविद्यालय पढ्न थालेको र पूर्व मध्यमाको विद्यार्थी हुँदा उहाँले यहीं आफ्नो नाम मोतिलालको ठाउँमा मदन कुमार भण्डारी राख्नु भएको ऐतिहासिक तथ्य भेटिन्छ ।

सबै भन्छन् हिजो आज यहाँ औधी अँध्यारो छ

ठूलो ठालु मजा गर्छन् मसिना जिउन गाह्रो छ पीठो

आँटो नपाएर मुटुमा बेदना वोकी हिमाली सन्तती रुन्छन् सधैं खोजी ढिडो रोटी

त्यहाँ २ वर्ष पढेर पूर्व मध्यमा पुरा गरी अझै राम्रो शैक्षिक संगत र अगाडिको शिक्षा आर्जनका लागि मदन भण्डारी इलाहावाद तर्फ लाग्नु भयो । त्यहाँ ६–७ महिना पढेर चित्त नबुझे पछि उहाँ फेरि देहरादुन तर्फ लाग्नु भयो र राजनैतिक रुपले प्रशिक्षित केही नेपाली विद्यार्थीहरुको साथमा देशमा प्रजातान्त्रिक परिवर्तनको लागि लेखन क्षेत्रबाट अग्रसरता देखाउन थाल्नुभयो । त्यहाँ वहाँले उत्तर मध्यमा सम्मको पढाई पुरा गर्नु भयो । १ वर्ष जति पछि वहाँ भारतको सवै भन्दा राम्रो शैक्षिक केन्द्रको रुपमा स्थापित वनारस पुग्नु भयो । वनारसको साधुबेला कर्णघण्टामा रहेको विश्वनाथ गुरुकुल संस्कृत महाविद्यालयमा वहा शास्त्रीमा भर्ना हुनुभयो । त्यहीँ वहाँको भेट सिन्धुपाल्चोकबाट अध्ययनका लागि गएका जगन्नाथ आचार्यसँग भयो र छोटो समय मै मदन र जगन्नाथबीच मित्रता वढ्यो ।

बनारस धार्मिक रुपले एउटा पवित्र स्थलको रुपमा नेपालीहरु सामु परिचित थियो त्यसरी नै राजनैतिक रुपमा पनि सचेत नेपालीहरु समेतको उच्च संगतका लागि बनारस प्रसिद्ध थियो प्रवासमा रहेका अधिकांश नेपाली राजनेताहरु त्यहाँ राजनीतिको भविष्य देख्ने गर्थे । पुष्पलाल त्यहाँको दशपुत्र गल्लीमा डेरा गरी बस्थे । गणेशमान पनि मंगलादेवीसँगै त्यहीं राजनैतिक गतिविधिहरुमा सम्लग्न हुन्थे । वि.पी.कोइराला पनि महत्वपूर्ण ढङ्गले त्यहींबाट कांग्रेसको गतिविधी अगाडि बढाउने गर्दथे । विस्तार विस्तार घुलमिल हुँदै जाँदा २०२८–२०२९ सालतिर मदनले प्रवासका विभिन्न शैक्षिक गतिविधि तथा वक्तृत्वकला प्रतियोगिताहरुमा सहभागी हुने अवसरहरु प्रप्त गरेर र त्यहाँ मदनले आफ्नो चेतना, योग्यता र दक्षतालाई साहित्यिक यात्राका रुपमा अगाडि बढाएर नेपाली विद्यार्थीहरुमा आफ्नो प्रभाव छाड्न सफल हुँदै गएको भेटिन्छ । त्यहाँको छात्रावासले आयो जना गरेको एउटा वक्त्रित्वकला प्रतियोगिता जसको निर्णयक मण्डलीको अध्यक्ष क्रान्तिकारी कवि तथा लेखक युद्ध प्रसाद मिश्र थिए त्यसमा मदनले मित्र पो चिन्नु पर्छ कविता वाचन गरेपछि त्यस कविताका लागि उनलाई प्रथम बनाइयो र त्यहींबाट कवि युद्ध प्रसाद मिश्रसँगको क्रान्तिकारी सहयात्रामा पनि अगाडि बढेको पाइन्छ ।

यता खाली म यौटी छु कलिला बाल वच्चाको खुवै बेहाल भो साह्रा यहाँ बाँचिन्न जस्तो भो ।

सँधै भर्ती उतै प्रीति गरी बिर्स्यौ कि यो टाउँ रिसायौ वा घिनायौ वा अए प्यारा म के जानु

प्रवासका हरेक जसो शैक्षिक केन्द्रमा पढ्दै गर्दा सुसुप्त रुपमा मदन भित्र हुर्कंदै गएको विलक्षण व्यक्तित्वले यहाँबाट किशोरावस्थामा प्रवेश पाउँछ । क्रान्तिधर्मी लेखकबाट राजनीतिक माहौलमा छिर्दै गर्दा मदन बनारसमा ‘छात्र प्रभा’ पत्रिकाको सम्पादन गर्नपुग्नु भयो । उक्त पत्रिकाको सम्पादकीय नै शास्त्रीय छन्दमा लेखेर सवैमा आफ्नो प्रभाव छोड्न सफल हुनुभएको थियो ।

कुन्दा बन्दुकका तीखा कलमले सामन्तका छातीमा
रोपी च्वाप्प चुहाउँदै रगतको रातो मसीले यहाँ
नेपाली दिल भित्रका दमनको व्यथा खुला लेखियो
ए मान्छे हो सुन यै व्यथा प्रगतिको साहित्यको श्रोत हो ।

पुष्पलालको प्रयत्न कांग्रेसलाई पनि कम्युनिष्टहरुसँग मिलेर देशमा प्रजातन्त्रको लागि लड्न अभिप्रेरित गर्ने हुन्थ्यो उनले बीपीसँग यसको निम्ति प्रश्ताव पनि गरेका थिए । पुष्पलालसँगको छलफल पछि गणेशमान मंगलादेवी लगायतका कांग्रेसीहरुले कम्युनिष्टहरुसँग मिलेर पञ्चायतका विरुद्धमा संयुक्त आन्दोलन गर्ने समझदारी गरे । केही विदेशीहरुको साथ पाएपछि २०२९ सालमा बीपीले नेपालमा फेरी सशस्त्र आन्दोलन गर्ने आह्वान गरेका थिए । कांग्रेसको सशस्त्र संघर्षको आह्वान पछि टिम्वुरवोटे काण्डबाट सकियो भने यता २०२३ साल देखिनै सुसुप्त रुपमा झापा क्षेत्रमा शुरु भएको वर्गीय आन्दोलन पनि त्यही समयमा उत्कर्षमा थियो । राज्यपक्षको चरम दमनमा ठुला ठुला काण्डहरु भइरहेका थिए । क्रान्तिकारीहरुलाई खोज्दै सिध्याउँदै गर्ने रणनीतिमा सुखानी हत्याकाण्ड भएपछि त उनीहरुले कम्युनिष्टसँग मिलेर गर्ने भनेको संयुक्त जन आन्दोलनको समझदारी पनि तोडियो ।

यसरी समझदारी गरिसकेपछि पनि जव कांग्रेसहरुबाट पुष्पलालले धोखा खाए, उनको सोचाईमा ठेस लाग्यो, तत्काल उनी कुनै सम्भावना देख्न नसक्ने भए । यस्ले एकातिर पुष्पलालबाट विद्रोह गर्ने र असन्तुष्टी वोकेर वस्नेहरु भए भने अर्कातिर निराश भएर पुष्पलाल जस्तै कलकत्ता गएर बस्ने पनि थिए । यता सम्पादक मदन भण्डारीका लेख रचनाहरु युवा विद्यार्थीहरुको मनलाई छेडेर अघि वढ्थ्यो नमेटिने गरी उनीहरुमा छाप छोड्थ्यो । मदनका यही सिर्जनाहरुको शक्ति र विश्वासमा कम्युनिष्ट विद्यार्थीहरु एकबद्ध हुँदै गए र मुक्ति मोर्चाको माध्यमबाट क्रान्ति धर्मी नेपालीहरुलाई गोलवद्ध गर्दै गए । २०२९ सालमा बलराम उपाध्यायको हातबाट मदनले कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गर्नु भयो र २०२९ सालमै कवि युद्धप्रसाद मिश्रको अध्यक्षतामा बनेको ‘नेपाली जनबादी क्रान्तिकारी साँस्कृतिक संघ’को पनि सदस्य बन्नुभयो ।

प्रवासमा मदनका महत्वपूर्ण प्रशंगहरुलाई अघि सार्दै जाँदा संस्कृत विद्यापीठहरुमा स्थापित रहेका धार्मिक मान्यताहरुलाई सम्झनु पर्ने हुन्छ । त्यहा दुई प्रकारका मान्यता स्थापित रहेका भेटिन्छ । एक वैष्णव धर्मी परिपाटी जहाँ कुनाकुनाबाट अध्ययनका लागि आएका सोझा सिदा विद्यार्थीहरुलाई सुदर्शन चक्रले प्रमाणित गर्ने याने पाखुरीमा विष्णुको सुदर्शन चक्र चिनो लगाउने(डाम्ने) र आजबाट तिमी वैष्णव भयौ भन्ने अनि त्यही अनुसारको आचरण सिकाउने, अर्काे विद्यार्थीहरुको पाखुरीमा शिवको त्रिशूल डाम्ने र आजबाट तिमी योगी भयौ भनी शैव परम्पराको एउटा रहस्या सन्यासी बनाएर गुरु शिष्य परम्परा सञ्चालन गर्ने । मदनले पनि यसैकारणले प्रवासमा एक पटक अध्ययन छाडेर अर्कै स्थानमा हिंड्नु परेको यथार्थ वहाँका सहपाठीहरु व्यक्त गर्नुहुन्छ ।

यसैगरी मदनको अदम्य साहसको वर्णन गर्दै जगन्नाथ आचार्य भन्नुहन्छ “एक पटक हामी वनारसको एउटा गल्लीमा हिंड्दै थियौं त्यहाँ सयौं गल्लीहरु घाटहरु थिए । प्राय बेलुकाको समयमा गल्ली केही सुनसान हुने र राजनैतिक कामकाज भेटघाटका लागि अली सहज हुने हुनाले हामी बनारसको शिवघाटबाट अगाडि बढ्दै थियौ केही मान्छेहरु हामीलाई पिछा गर्दै आएको थाहा पाएर मदनले मलाई हामी सरासर चुप लागेर अगाडि बढ्दै जाउँ है भनी लम्की रहनु भयो म उहाँको पछि पछि लागे अलि एकान्त ठाउँमा पुगे पछि एक्कासी उनीहरुले हामीलाई रोके उनीहरु अलि डरलाग्दा थिए हामी दुईजना मात्रै त्यही पनि परदेशमा म केही गर्न सकिरहेको थिइनँ । तिनीहरु मध्येकै एउटा मुख्याले ए नेपाली कहाँसे आया है भनी समात्न अगाडि बढ्यो, म मदनलाई राम्ररी चिन्ने हुनाले पनि किनकि उहाँ कसैसँग कहिल्यै अनाहकमा नझुक्ने हुनाले त झन म डरले काँपिरहेको थिए तर एक्कासी मदनले एक्कासी आफ्नो कोटको भित्रबाट एउटा सिरुपाते खुकुरी निकाल्नु भयो र उनीहरुको अगाडि डटेर खडा हुनु भयो त्यो देखेर उनीहरु नै डराएर त्यहाँबाट भागे ।”

२०३२ सालतिर आइपुग्दा मोदनाथ प्रश्रित, जीवराज आश्रितहरुका समूहले साँस्कृतिक संघबाट छापिँदै आएको मुक्तिमोर्चा पत्रिकालाई आफ्नो मुखपत्र बनाई पार्टी पंक्तिको भविष्यको लागि क्रान्तिधर्मी लेखनको महत्वपूर्ण अभिभारा मदनलाई सुम्पेर नयाँ अभियान अगाडि बढायो । त्यतिखेर बनारसमा मात्रै झण्डै ५ हजार युवा नेपाली पाठकहरु थिए । केही समय पछि मदन भण्डारी जीवराज आश्रित-मोदनाथ प्रश्रितसँग नेपाल फर्किनु भयो ।

बुझे सम्म मदनको र जगन्नाथ आचार्यको मित्रता राम लक्षमण जस्तो थियो रे यति मात्र होइन उहाँहरु उस्तै ६–७ जना हुनुहुन्थ्यो कहिले को लक्षमण कहिले को लक्ष्मण राम त खाली मदन मात्र । मदन गीत कविता लेख्नु हुन्थ्यो गाउनु हुन्थ्यो उनीहरु मन्त्र मुग्ध भएर सुन्थे गाउँथे नाच्थे मदन पनि नाच्नु हुन्थ्यो गाउनु हुन्थ्यो उहाँ नगाइकन त गीत कविता वाचनै गर्नु हुन्नथियो रे । मदन नभएका वेलामा पनि साथी भाइहरु एक ठाउँमा भेला भए भने मदनका गीत मदन कै शैलीमा गाउने मदनले नाचे जस्तै नाच्ने र वेला बेलामा मदन समेत वा मदन रहित भए पनि पिकनिकहरु सञ्चालन भएर यहाँ आफ्नो देशको गरिबी हटाउने कल्पना गर्ने र त्यही अनुसार आफूलाई राजनैतिक कार्यमा लगाउने नै मदनको प्रवासको संगत चिन्तन र मृत्यु पर्यन्त साधना रहेको पाइन्छ ।

२०७८/०२/०३