काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विपदबाट जनधनको दीर्घकालिन सुरक्षा गर्नका लागि सुरक्षित स्थानमा एकीकृत वस्ती निर्माण गरिनुपर्ने बताउनुभएको छ ।
गत असार १ गते आएको भिषण बाढीबाट क्षतिग्रत भएको मेलम्ची क्षेत्रको शनिबार अवलोकन भ्रमण पश्चात स्थानीय जनप्रतिनिधिहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो विचार राख्नुभएको हो ।
‘यहीँ ठाउँमा त्यसैगरी उस्तै वस्ती, उहीँ ठाउँमा बजार बसाउने कुरामा धेरै कोसिश नगरौं । किनभने २÷४ वर्ष कुनै पनि समय विनाश नआउँदासम्म त सुरक्षित हुन्छ । आएको बेला चाहिँ फेरि त्यसले बर्बाद गर्छ,’ उहाँले भन्नुभयो ।
बाढीपहिरोले खोला किनारका वस्ती, बजार, संरचना वा खेतीपातीलाई ने सँधै बिर्गाने बताउँदै प्रधानमन्त्री ओलीले सुरक्षित वस्ती, सुरक्षित आवास र सुरक्षित ठाउँमा बाढी र पहिरोले केही गर्न नपाउने स्थानमा सारिने बताउनुभयो ।
साथै, प्रधानमन्त्रीले अहिले बगरको रूपमा परिणत भएको स्थानलाई भोलि बागबानी, बगैँचा, खेती, मत्स्य पालन आदि क्षेत्रहरूमा विकास गर्न सकिने धारणासमेत राख्नुभयो ।
प्रधानमन्त्रीले सो भ्रमणका क्रममा राहत रकमका साथमा सय ६६ घरका लागि १५ बण्डल जस्तापाता वितरण घोषणा गर्दै त्यो जस्तापाताले यहाँ तत्काल अस्थायी बसोवासको व्यवस्था गरिने बताउनुभयो । उहाँले पीडितलाई ५० हजार रुपैयाँ पनि तत्काल उपलब्ध गराइने बताउनुभयो ।
भ्रमणकै क्रममा प्रधानमन्त्री ओलीले उक्त मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, पाँच पोखरी थाँगपाल गाउँपालिका र जुगल गाउँपालिकामा भएको क्षति, राहत तथा पुनःस्थापना कार्यको विस्तृत जानकारीसमेत लिनुभएको थियो ।
बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री ओली । तस्बिर : प्रम सचिवालय
प्रतिक्रिया