काठमाडौं– शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन हुँदैछ ।
लुम्बिनीको मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी चयन हुने निश्चित भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरिसक्नुभएको छ ।
बुधबार सूचना जारी गर्दै २४ घण्टाभित्र सरकार गठनका लागि दललाई आह्वान गरेपछि नयाँ सरकार गठनको गृहकार्य सुरु भएको हो । विपक्षी गठवन्धनका दलहरू सरकार गठनको कसरतमा जुटेका छन् ।
विपक्षी गठवन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।
मुख्यमन्त्रीसँगै आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने गठबन्धनको तयारी छ । प्रदेशसभामा हाल ८० सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । विपक्षी गठबन्धनसँग कांग्रेसका १९, माओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन् ।
प्रतिक्रिया