अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुर्खेत पुगेर देउवाले भने- कांग्रेसको सभापति मै हुँ, अदालतले न्याय दिन्छ

सुर्खेत पुगेर देउवाले भने- कांग्रेसको सभापति मै हुँ, अदालतले न्याय दिन्छ


सुर्खेत-शेरबहादुर देउवाले आफू नै पार्टीको आधिकारिक सभापति रहेको दाबी गर्दै अदालतबाट आफ्नो पक्षमा न्याय हुने विश्वास व्यक्त गरेका छन्।

आइतबार सुर्खेतको वीरेन्द्रनगरमा देउवा पक्षले आयोजना गरेको कर्णाली प्रदेश अधिवेशनको उद्घाटन गर्दै देउवाले आफूले राजीनामा नदिएको र पार्टी विधानअनुसार अविश्वासको प्रस्तावबाट दुईतिहाइ बहुमतले हटाइएको अवस्था पनि नरहेकाले आफू नै सभापति रहेको जिकिर गरे।

देउवाले नेपालको संविधान र नेपाली कांग्रेसको विधानअनुसार पार्टीको आधिकारिकता आफूले नै प्राप्त गर्ने विश्वास व्यक्त गरे। न्यायालयप्रति आफ्नो पूर्ण विश्वास रहेको उल्लेख गर्दै उनले अदालतले न्याय दिने बताए।

‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशन पछाडि अर्को नयाँ साथी सभापति बन्नुहुन्छ,’उनले भने। साथै उनले नेपालको संविधान र कांग्रेसको विधान अनुसार आधिकारिकता आफूले नै प्राप्त गर्नेमा विश्वस्त रहेको बताए। देउवाले भने, ‘न्यायालयप्रति मेरो पूर्ण विश्वास छ, हामीले नै पार्टीको आधिकारिकता पाउँछौँ। अब म फेरि न त पार्टी सभापति हुन्छु, न त प्रधानमन्त्री नै।’

पाँचपटक प्रधानमन्त्री र पार्टी सभापतिको जिम्मेवारी सम्हालिसकेको उल्लेख गर्दै देउवाले आफूले मुलुकबाट पाउनुपर्ने सबै कुरा पाइसकेको बताए। अब नेतृत्वमा नयाँ पुस्तालाई अवसर दिनुपर्ने उनको भनाइ थियो। आफूले मुलुकबाट लिनुपर्ने केही बाँकी नरहेको भन्दै उनले बाँचुन्जेल सकेको योगदान गर्ने बताए।

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर सुरु भएको विवादले पार्टीको नेतृत्व र आधिकारिकतासम्बन्धी संकट चुलिएको छ। गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापतिमा निर्वाचित भएका थिए। उनकै नेतृत्वमा पार्टीको १५औँ नियमित महाधिवेशनसमेत सम्पन्न भइसकेको छ।

तर, देउवा पक्षले विशेष महाधिवेशनलाई अस्वीकार गर्दै आएको छ। आफूहरू नै पार्टीको आधिकारिक नेतृत्वमा रहेको दाबी गर्दै देउवा पक्षले छुट्टै महाधिवेशन प्रक्रिया अघि बढाएको हो।

सोही प्रक्रियाअन्तर्गत देउवा पक्षले कर्णालीसहित विभिन्न प्रदेशमा अधिवेशन गरिरहेको छ। यस पक्षले मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी गरेको छ। दुवै पक्षले पार्टीको आधिकारिक नेतृत्वमाथि दाबी गरिरहेका बेला विवादको निरूपण अब न्यायिक प्रक्रियाबाट हुने अपेक्षा गरिएको छ।