अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अम्लिसोले राम्रो मूल्य पाएपछि किसान हर्षित

अम्लिसोले राम्रो मूल्य पाएपछि किसान हर्षित


तेह्रथुम – पछिल्लो समय तेह्रथुमका किसानहरू अन्नबाली मास्दै नगदेबालीतर्फ आकर्षित हुँदै आएका छन् । खाली जमिन तथा पाखोबारीमा यतिबेला अम्लिसो खेतीले भरिएका छन् । गाउँगाउँमा सडक सञ्जाल जोडिएसँगै किसानहरू नगदेबाली रोज्दै आएका छन् ।

किसानले खेती गर्दै आएको अम्लिसोको राम्रो मूल्य पाएपछि हर्षित बनेका छन्। विगतका वर्ष अम्लिसोको मूल्य गिरावट आएसँगै निराश बनेका किसानहरू यतिबेला अम्लिसो थुत्न र बिक्री गर्न हतारोमा छन् । पशु चौपयालाई घाँससँगै फूलबाट आम्दानी लिन सकिने भएकाले पनि किसानहरूले अम्लिसो खेतीलाई रोजेका हुन् ।

अम्लिसो बेचेर राम्रै आम्दानी लिँदै आएको लालीगुराँस-५ दागपाका रमेश बस्नेतले बताउनुभयो । उहाँ भन्नुहुन्छ- ‘खेती लगाएपछि अम्लिसोलाई खासै हेरचाह गर्नु पर्दैन फूल थुतेपछि घाँस राम्रो काट्नुपर्छ त्यति मात्रै हो । अम्लिसोको फूल बिक्री नभए पनि गाईवस्तुलाई घाँस हुन्छ बहुउपयोगी खेती हो।’ बस्नेत जस्तै आठराईका गोपाल ढकालले पनी अम्लिसो बिक्रीबाट राम्रो आम्दानी लिँर्दै आएका छन् । ढकाल तरकारी खेतीसँगै अम्लिसो खेती गर्दै आएको बताउँछन् ।

तेह्रथुमको ग्रामीण क्षेत्रमा यतिबेला अम्लिसोको फूल प्रतिकिलो १२० रुपैयाँले बिक्री भइरहेको छ । गत वर्ष १०० अधिकतम एक सय रुपैयाँमा बिक्री भएको अम्लिसो यसवर्ष पहिलो सिजनमा १५० रुपैयाँसम्म बिक्री भएको थियो । राम्रो मूल्य भएकाले व्यापारीहरू खरिदका लागि घरघरमा आएर लैजाने गरेको किसानहरू बताउँछन् । अम्लिसो खेतीले परिवार धान्नसमेत टेवा पुग्दै आएको छ। यहाँका किसानहरूले पाँच रोपनीदेखि ५० रोपनी क्षेत्रफलमा अम्लिसो खेती गर्दै आएका छन् ।

जिल्लाको ६ वटै पालिकाहरूमा अम्लिसो खेती हुँदै आएको छ । पछिल्लो समय खाली रहेका जमिनमा अम्लिसो खेतीको विस्तार हुने क्रम बढ्दो रहेको कृषि शाखाहरूले जनाएका छन् । तेह्रथुममा उत्पादन भएको अम्लिसो धनकुटा हिले र झापाको विर्तामोडसम्म बिक्री हुँदै आएको छ ।