अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्मचारी प्रशासनमा देखिएका समस्या हल गर्न लागिपर्छु: मन्त्री न्यौपाने

कर्मचारी प्रशासनमा देखिएका समस्या हल गर्न लागिपर्छु: मन्त्री न्यौपाने


तनहुँ-संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले कर्मचारी प्रशासनमा देखिएका समस्या हल गर्न लागिपर्ने बताउनुभएकाे छ।

जिल्ला प्रशासन कार्यालय तनहुँमा आइतबार तनहुँका सरकारी कार्यालयका प्रमुख तथा निजामती कर्मचारीका ट्रेड युनियनका प्रतिनिधिलाई निर्देशन दिँदै मन्त्री न्यौपानेले निजामती कर्मचारीहरुको न्यायिक व्यवस्थापन गरिने र संघीय निजामती ऐन जारी भएपछि कर्मचारी प्रशासनमा देखिएका धेरै समस्या हल हुने बताउनुभयाे।

संघीय निजामती ऐन प्रतिनिधि सभाबाट पारित भएर राष्ट्रिय सभामा टेवल भएको भन्दै राष्ट्रिय सभामा दफावार छलफलपछि समितिले टुंगो लगाएर पुनः प्रतिनिधि सभामा पठाउने र चालु संसद अधिवेशनबाट संघीय निजामती ऐन जारी हुने मन्त्री न्यौपानेले बताउनुभयाे। संघीय निजामती ऐन जारी भएपछि कर्मचारीहरुले उठाएका धेरै विषय सम्बोधन हुने मन्त्री न्यौपानेले बताउनुभयाे। अहिले कर्मचारी संघीयता संक्रमणकालमा रहेको र त्यस संक्रमणकाललाई जतिसक्दो चाँडो अन्त्य गर्ने भन्दै मन्त्री न्यौपानेले भन्नुभयाे, ‘तीनै तहका कर्मचारीको समस्या समाधान गरी कर्मचारीलाई उत्साहपूर्वक काममा लाग्ने वातावरण बनाउन लागि परेको छु।’

कर्मचारीको मात्र नभई अहिले जनताको समस्या पनि निकै ठूलो रहेको भन्दै मन्त्री न्यौपानेले कर्मचारीहरुले जनताको कामलाई उच्च प्राथमिकतामा राखेर कार्य सम्पादन गर्नुपर्ने बताउनुभयाे।

‘भनसुनको आधारमा भन्दा कानुनको परिधि र सिस्टममा आधारित भएर सेवा दिनुहोस्’ मन्त्री न्यौपानेले भन्रनुभयाे, ‘जनताको काममा कुनै पनि बाहानामा ढिलासुस्ती र अलमल हुनु हुँदैन।’ जनातामा दुई चार पैसा खर्च नगरिकन, भनसुन र पावर नलगाइकन मेरो काम बन्दैन भन्ने मानसिकता रहेको भन्दै उहाँले त्यो मानसिकतालाई तोड्ने आफ्नो प्राथमिकतामा रहेको बताउनुभयाे। जनताको विश्वास जितेर कर्मचारीहरुले कार्यसम्पादन गर्नुपर्ने उहाँले बताउनुभयाे। राम्रो काम गर्नेलाई पुरस्कार र नराम्रो काम गर्नेलाई दण्ड सजायको व्यवस्था पनि हुने उहाँले बताउनु भयाे ।

मन्त्री न्यौपानेले आइतबार नै नेपाल निजामती कर्मचारी संगठन जिल्ला समिति तनहुँले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रम एवं सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति सप्ताह–२०८२ को उद्घाटन गर्दै संघीय निजामती ऐन चालु संसद अधिवेशनमै जारी हुने विश्वास दिलाउनुभयाे।