अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनयुद्धको भन्दा ठूलो क्षति गराउँदैछन् प्रचण्ड र माधव

जनयुद्धको भन्दा ठूलो क्षति गराउँदैछन् प्रचण्ड र माधव


नेपाली राजनीति अहिले विरामी छ । रोग सामान्य देखिँदैन । दीर्घकालीन रोगको लक्षण देखिएको छ । एमसीसी पारित हुने कि नहुने, गर्ने कि नगर्नेमा मात्र अहिलेको राजनीतिक विरामी सीमित छैन । एमसीसी त बहाना मात्र हो ।

अहिलेको राजनीतिक विरामीमा कतिपय अनौठो विशेषता देखिएको छ । राजनीति जटिल बन्दै जानुका धेरै कारण छन् । आगामी दिनमा केही राजनीतिक शक्तिको औचित्य समाप्त हुने अवस्था देखिएको छ । उनीहरुले अस्तित्वका लागि जे पनि गर्ने प्रवृत्ति देखाइरहेका छन् । यो कारण राजनीति जटिल बन्दै गएको छ ।

जटिलता बढ्नुको अर्को कारण नेपाली राजनीतिक समस्याको आयाम विस्तारित हुनु पनि हो । नेपालको राजनीतिक समस्याको आयाम देशभित्र मात्र सीमित रहेन, विश्व राजनीतिसँग पनि गासियो ।

जटिलता बढ्नुको अर्को कारण नेपालमा शक्ति राष्ट्रहरुको चासो अब गुपचुप रहेन, खुलेआम देखिन थाल्यो । हरेक देशले अर्को देशको राजनीतिमा चासो राख्छ । शक्ति राष्ट्रहरु अहिले नेपालमा चासोसाथ हेरिरहेका मात्र छैनन्, प्रत्यक्ष भूमिका पनि निर्वाह गरिरहेका छन् । यो कारण जटिलता बढ्दैछ ।

नेपाली राजनीतिमा स्थिरतावादी शक्ति र अस्थिरतावादी शक्तिबीच दशकौंदेखि संघर्ष हुँदै आएको छ । राजनीतिलाई अस्थिरतामा लैजाने, देशलाई अस्थिर बनाउने प्रयास पहिले पनि भएको थियो र आगामी दिनमा पनि हुनेछ ।

नेपालको राजनीतिक इतिहास अस्थिरताको इतिहास पनि हो । सात दशकदेखि राजनीति कहिले स्थिर भएन । कुनै पनि संविधान दिगो भएन । कुनै पनि सरकारले पूरा कार्यकाल काम गर्न सकेनन् । पछिल्लो पटक केपी शर्मा ओली नेतृत्वको सरकारले पाँच वर्ष काम गर्ने अपेक्षा गरिएको थियो । त्यसलाई पनि टिक्न दिइएन । ओली सरकार ढाल्ने शक्तिहरु समाप्त हुने बाटोमा छन् । उनीहरुका कारण अहिले देश जटिलतामा फसेको छ ।

नेपालमा ७२ वर्ष बीचमा ५५ पटकभन्दा धेरै सरकार फेरियो । राजाले प्रधानमन्त्री बनाउने अभ्याश पनि देशले गर्यो । न्यायाधीश नै सरकार प्रमुख बन्ने र न्यायाधीशले नै प्रधानमन्त्री छान्ने अस्वाभाविक अभ्याश पनि गरियो । अहिले आएर देशको दीर्घकालीन हितलाई नै प्रभावित गर्ने गरी राजनीतिक गतिविधि गर्न थालिएको छ ।

जनयुद्धको भन्दा ठूलो क्षति

पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, मोहन वैद्य लगायतका व्यक्तिहरुले २०५२ साल फागुन १ गतेबाट हिंसात्मक अभियान थाले । त्यसलाई उनीहरुले जनयुद्ध नाम दिएका थिए । १० वर्ष चलेको जनयुद्धमा १७ हजार मानिस मारिए । जनयुद्धकारी नेताहरु खुला राजनीतिमा आएपछि देशले थप क्षति भोग्यो । उनीहरुको उग्रताका कारण नेपालको राजनीति मात्र नभएर समाजमा पनि विभाजनको रेखा कोर्न खोजियो । नेपालले अस्वाभाविक राजनीतिक बाटो हिँड्न पर्यो । जनयुद्धको १० वर्ष र त्यसपछिको १० वर्षमा नेपालले जति क्षति भोगेको थियो त्योभन्दा धेरै क्षति आगामी दिनमा गराउने प्रयास त्यही राजनीतिक शक्तिले गरिरहेको छ ।

समाप्त हुन लागेको माओवादी शक्तिले आफ्नो अस्तित्व राजनीतिक अस्थिरतामा मात्र देखेको छ । अस्थिरता भयो भने माओवादी शक्ति बाँच्न सक्छ नत्र सक्दैन भन्ने स्पष्ट भइसकेको छ । त्यसैले त्यो शक्तिले नेपाली राजनीतिलाई दिर्घकालीन रुपमा अस्थिर बनाउने प्रयास गरिरहेको छ । माओवादी शक्तिको साथमा माधवकुमार नेपालको नेकपा एस पनि गासिएको छ । माधवको शक्ति बुलबुल हो । साबुन पानीले हात धुँदा ठूलाठूला फोका बन्न सक्छ । साबुनको फोका जस्तो मात्र हो माधवको शक्ति । त्यो शक्तिले पनि आफ्नो अस्तित्व रक्षा अस्थिरतामा मात्र देखेको छ ।

साना राजनीतिक पार्टीहरुको अस्तित्व अस्थिरतामा मात्र रहन सक्छ । त्यस्ता सबै शक्तिहरु अस्थिरताको पक्षमा लागेका छन् । उनीहरुका लागि एमसीसी बहाना मात्र हो । समाप्त हुन लागेका शक्तिहरुले एमसीसीको बहानामा शक्ति राष्ट्रहरुलाई पनि नेपालको आन्तरिक राजनीतिमा घिसारेर ल्याउने प्रयास गरिरहेका छन् ।

नेपालमा राणा शासनको अस्तित्व सकियो । त्यो भ्याकुम पूरा हुन धेरै वर्ष लाग्यो । ०७ सालपछि लामो समय अस्थिरता सिर्जना भएको थियो । ०४७ सालमा पञ्चायती व्यवस्था समाप्त भयो । त्यसको ठाउँ बहुदलीय व्यवस्थाले लियो । कांग्रेस र एमाले प्रमुख पार्टी बनेका थिए ।

राजनीति एउटा कोर्सबाट अर्काे कोर्समा जाँदा केही शक्ति अस्ताउँछन् । केही शक्ति उदाउँछन् । पछिल्लो कालमा राजतन्त्र अस्तायो । राजतन्त्रको अन्त्यसँगै माओवादी पार्टी शक्तिशाली रुपमा उदायो । पछिल्ला दिनमा यसको शक्ति क्षय हुँदै गयो । माओवादी शक्ति छिन्नभिन्न हुँदै गयो । शान्तिपूर्ण राजनीतिमा माओवादी शक्तिले आफूलाई समाल्न सकेन ।

आफ्नो शक्ति क्षय हुँदै जाँदा पार्टी र नेताले रंग फेर्नुपर्ने हुन्छ । रंग फेरिरहने, बोलि फेरिरहने, अविश्वसनीय रुपमा प्रस्तुत हुने माओवादीको चरित्र त्यसका नेता पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधित्व गर्छन् ।

नेपालमा अहिले सबैभन्दा अविश्वसनीय शक्ति माओवादी हो र अविश्वसनीय नेता प्रचण्ड हो । माओवादी र प्रचण्डको रानजीति सकिने अवस्थामा पुगेको छ । एमसीसीलाई बहाना बनाएर अस्थिरता सिर्जना गर्ने माओवादीको नियत रहेको छ ।

अस्तित्व रक्षाका लागि माओवादीलाई कुनै ठूलो मुद्दा चाहिएको थियो । एमसीसीलाई मुद्दा बनाउन सकिन्छ भनेर माओवादीले परीक्षण गर्दै थियो । केपी ओलीको सरकारकै बेलामा माओवादीले एमसीसी मुद्दालाई सडकमा लगेर ओलीलाई प्रहार गर्ने र आफ्ना लागि मसला बनाउने प्रयास थालेको थियो । माओवादीको त्यस्तो प्रयासमा माधव नेपालले पनि साथ दिएका थिए । अहिले प्रचण्ड र माधव साथमा छन् ।

प्रचण्ड र माधवहरुले नेपालको वैदेशिक सम्बन्धलाई जोखिममा पार्ने, नेपालमा विदेशी शक्तिहरुलाई घिसारेर ल्याउने प्रयास गरिरहेका छन् । उनीहरु यसमा सफल भएको अवस्थामा जनयुद्धले भन्दा ठुलो क्षति नेपाललाई हुनेछ ।

अहिलेको गतिविधि हेर्दा नेपालमा माओवादीको राजनीतिक अवसान अपरिहार्य देखिन्छ । विगतमा राणा र राजा सकिँदा उत्पन्न भएजस्तो भ्याकुम माओवादी सकिँदा हुने छैन ।

नेपालको अस्थिरता र विदेशी

नेपालको राजनीतिक अस्थिरता नेपालीकै कारणले मात्र भएको थिएन ।

नेपालको आन्तरिक मामिलामा विदेशीको अस्वाभाविक चासो र रुची संविधान निर्माणमा देखिएको थियो । नेपालको संविधानमा के लेख्ने के नलेख्ने भनेर युरोपियन युनियनले प्रत्यक्ष हस्तक्षेप गरेको थियो । भारतले नाकावन्दी लगाएको थियो । अहिले ज्वलन्त बनेर एमसीसी प्रकरण आएको छ । एमसीसी नेपालका लागि ठिक कि बेठिक भन्ने बहस चलिरहेको छ । एमसीसीलाई बहाना बनाएर नेपालमा कसले के गरिरहेको छ भन्ने ध्यान दिनुपर्ने भएको छ ।

एमसीसीमा चीन किन बोल्यो ? एमसीसी पास गराउन अमेरिकाले किन दवाब दिइरहेको छ ? एमसीसीमा चीन र अमेरिका बीच भनाभन परिसकेको छ । नेपालको मामिलामा विगतमा चीन र भारतबीच सामान्य मतभेद बाहिर प्रकट भएको थियो । नेपाल मामिलामा यसरी शक्ति राष्ट्रहरुले परस्पर विरोधी धारणा पहिलो पटक ल्याएका हुन् ।

नेपालको मामिलामा चीन र अमेरिकाले भनाभन गर्नु असामान्य हो । घरेलु राजनीतिमा तत्काल परिणाम देखिन्छ तर कूटनीतिमा तत्काल देखिँदैन । कूटनीतिको परिणाम आउन लामो समय लाग्छ । कूटनीतिको जालोमा फस्नु भनेको माकुराको जालोमा कीरा फसेजस्तो हुन्छ । निस्कन सजिलो हुँदैन । अहिले युक्रेनको अवस्था हेर्ने हो भने के बुझिन्छ भने सन् ९० को दशकदेखिको अवस्था हेर्नुपर्छ । रुस र युक्रेनबीच त्यसबेलादेखि नै समस्या थियो । युक्रेनले शक्ति राष्ट्रहरुलाई एक आपसमा भिडाउने नीति लियो । अहिले युक्रेन कति जटिल समस्यामा फसेको छ भन्ने हामी देख्न सक्छौं ।

आन्तरिक राजनीतिमा विदेशीलाई निम्त्याउने काम विगतमा पनि माओवादीले नै गरेको हो । जनयुद्धको बेलामा विदेश शक्तिलाई नेपालमा हस्तक्षेप गराउन माओवादीले केके गरेको थियो भन्ने सार्वजनिक भइसकेको छ । आफ्नो स्वार्थको लागि विदेशीलाई तान्ने, अस्थिरता सिर्जना गर्ने र आफ्नो शक्ति बढाउने माओवादीको नीतिलाई माधव नेपालले पनि सघाउँदा नेपाली राजनीति अझ जटिल बनिरहेको अवस्था हो ।

राजनीतिमा मिसिएको कूटनीति

शक्ति राष्ट्रहरुलाई एकथरीले चिढ्याउने र अर्काथरीले फकाउने गर्नाले नेपालमा विदेशीलाई सजिलो भएको छ । अहिले एकथरीले अमेरिकालाई र अर्काेथरीले चीनलाई गाली गरिरहेका छन्, फकाइरहेका छन् । सरकारको हातबाट कूटनीति फुत्किएपछि यो अवस्था आएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डसँग मिलेर एमसीसीलाई चिठी लेख्नु गम्भीर गल्ती थियो । देउवा र प्रचण्डले घरेलु राजनीति र कूटनीतिलाई मिसाइदिए ।

विदेश सम्बन्ध र घरेलु राजनीतिलाई नजोड्ने प्रयास हरेक मुलुकले गर्छन् । नेपालमा सरकारले नै घरेलु राजनीतिलाई वैदेशिक सम्बन्धसँग जोड्न प्रयास गरेको छ । यो कारणले पनि एमसीसी ठूलो र विवादास्पद मुद्दा बन्न पुगेको हो ।

चीन र अमेरिका नेपालको मामिलामा भनाभन गर्नु नेपालका लागि सुखद हुन सक्दैन । नेपाली नेताहरुको कूटनीतिक खेलाँचीपनका कारण यस्तो हुन गएको हो । घरेलु राजनीतिलाई कूटनीतिक सम्बन्धसँग गाँसिदिएपछि अस्थिरता सिर्जना गर्न सजिलो हुन्छ भन्ने प्रचण्डले जति अरुले बुझेका छैनन् ।

एमसीसीको सुरुदेखिकै अवस्थालाई हेर्ने हो भने यसलाई गिजोलेर राजनीति गर्ने दाउ प्रचण्ड र माधवले मिलेरै गरेको देखिन्छ । अहिले दुवैजनाको पार्टी सरकारमा छ तैपनि एमसीसी मुद्दामा सडकमा पनि छन् । राजनीतिलाई अस्थिरतामा लैजाने, वैदेशिक सम्बन्धलाई गिजोल्ने, नेपाललाई दीर्घकालनीन समस्यामा फसाउने उद्देश्यले नै प्रचण्ड–माधवको जोडि सरकार र सडक दुवैतिर छ । कूटनीति भनेको घरेलु राजनीतिकै विस्तारित रुप हो । नेपाली राजनीतिका अस्ताउँदा शक्तिहरु तथा केही क्षणका लागि सरकारमा पुगेका शक्तिहरुले कूटनीतिलाई गिजोल्छन् भने त्यो मान्य हुन सक्दैन ।

राजनीति र कूटनीति मिसाइनाले अहिले राजनीतिक जटिलता बढेको हो । प्रचण्ड र माधवको आलोकाँचो रानजीति र कूटनीतिक केटाकेटीपनको सिकार प्रधानमन्त्री शेरबहादुर देउवा र सरकार पनि भइरहेको छ । यस्ता आलाकाँचा नेताहरुबाट देशले सुख पाएको पनि थिएन र पाउनेवाला पनि छैन । अहिलेको उनीहरुको गतिविधिले देशलाई जनयुद्धले भन्दा ठुलो क्षति गर्ने चिन्ता छ ।

(अमेरिकाको युनिभर्सिटी अफ नर्थ टेक्सास विश्वविद्यालयबाट केमिस्ट्रीमा पिएचडी । दुई दशकदेखि विभिन्न विश्वविद्यालय तथा कलेजमा प्राध्यापन)

facebook.com/sundari.sharma.1
Twitter: @SundariPokharel