अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

त्यो इभिनिङ वाक र फ्लाई ओभर सपना…

त्यो इभिनिङ वाक र फ्लाई ओभर सपना…



काठमाडौं-२०७६ साल फागुन महिनाको पहिलो हप्ता शुक्रवारको कुरा हो। म बालुवाटारमा एक्लै ‘इभिनिङ वाक’मा हिँडिरहेका थिएँ। त्यति बेला ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई पुरा गर्न भौतिक पूर्वाधार निर्माण पहिलो प्राथमिकता रहेको थियो। सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली पूर्वाधार निर्माणमा उच्च महत्त्व दिनुभएको थियो। यो स्तम्भकार पनि प्रधानमन्त्रीको सल्लाहकार समूहमा वरिष्ठ आर्थिक विकास विज्ञको रूपमा कार्यरत रहेको अवस्था थियो। मेरो मनमा विदेश तिर धेरै तहका फ्लाई ओभर निर्माण भएको देखिने तर नेपालमा भने एउटा पनि नभएको र विभिन्न चोकमा ट्राफिक जाम भने हुने गरेको अवस्थामा नेपालमा अब फ्लाई ओभर बनाउनुपर्छ र यसलाई नेतृत्व तहमा कुरा गरी निर्माण तहमा लानुपर्छ भन्ने लाग्यो। मैले त्यति बेला त्रिपुरेश्वर चोक, थापाथली चोक, बानेश्वर चोक, कोटेश्वर चोक, महाराजगन्ज चोकमा फ्लाई ओभर बनाउन पाए शहरी पूर्वाधार पनि निर्माण हुने जनताले पनि छिटो यातायात गन्तव्यमा पुग्न सक्ने थियो भन्ने परिकल्पना गरेको थिएँ । मैले यही कुरा पहिला तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङसँग राखें र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोध्छु भनेर अठोट गरें।

केही दिनमा नै पहिला तत्काली भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङलाई सो प्रस्ताव राखें। उहाँले अति राम्रो कुरा यसमा म सहमत भएँ अब प्रधानममन्त्री ज्यूलाई कुरा गरौं भन्नुभयो। सोही अनुसार हामीले प्रधानमन्त्रीलाई कुरा राख्यौ, उहाँले झन् बढी उत्साही भएर राम्रो काम अब के-के गर्नुपर्ने हो गर्नु छिट्टै शुरू गरौं भन्नुभयो। हामी दुवै जना उत्साहित भयौं र अर्थ मन्त्रालय भित्र छलफल गर्ने तहमा पुग्यौं। भौतिक पूर्वाधार मन्त्रालय भित्र विभिन्न चरणमा छलफल भयो। शहरको भित्री चोकमा भन्दा, चक्रपथमा काम गरेर शुरू गरौं भन्ने प्रस्ताव आयो। त्यसपछि मैले कोटेश्वरचोक, ग्वार्को र नख्खु चोकमा गरौं भनेर प्रस्ताव राखें। तत्कालीन सडक विभागका महानिर्देशक हालका सचिव केशव कुमार शर्माले नेपालमा हामीसँग यस्तो संरचना बनाएको अनुभव पनि छैन। डकुमेन्ट पनि छैन त्यसैले पहिले एउटा मात्र गर्दा राम्रो हुन्छ भनेर प्रस्ताव ल्याउनु भयो। हामी यसैमा सहमत भयौं। त्यस पछाडि कस्तो मोडेलमा कसरी बनाउने जस्ता विषयमा छलफल भयो। २०७७ जेठमा हालका महानिर्देशक तत्कालीन क्यू.आर.डि.सी.मा सुई भएर पहिलो जिम्मेवारी समाल्दै गर्दा उहाँलाई जसरी भए पनि फ्लाई ओभरको डकुमेन्ट तयारीको काम पुरा गर्नुस भनेर जिम्मा लगाइयो। ई.पि.सि. (इन्जिनियरिङ प्रोक्यूरमेन्ट, र कन्ट्रक्सन) मोडेलको लागि डकुमेन्ट तयार भयो। आर्थिक वर्ष २०७८/७९ को बजेटमा भौतिक मन्त्री वसन्त कुमार नेम्वाङले बजेट विनियोजन गर्नुभयो। सोही अनुसार २०७८ साल फागुन १२ गते देखि काम सुरू गर्ने कार्यादेश दिएर ३१ करोड लागत अनुमानमा १७ करोडमा निर्माण गर्ने गरी निर्माण व्यावसायीसँग सम्झौता भएको थियो। ई. पि. सि. मोडेलका काम गर्ने सम्झौता भएकोमा कोभिड र अन्य टेक्निकल समस्याको कारणले बीचमा सोचे जस्तो काम अगाडि बढ्न सकेन।

२०८१ असार ३१ गते केपी शर्मा ओली प्रधानमन्त्री र देवेन्द्र दाहाल भौतिक पूर्वाधार मन्त्री भएपछि यस परियोजनाले पुनः गति लिन थाल्यो। सबैजना यो नेपालको पहिलो फ्लाई ओभर जसरी पनि छिटो छिटो सम्पन्न गर्नु पर्छ भनेर के समस्या परेको छ।
किन काम रोकियो भनेर नियमित अपडेट लिन लाग्यौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रीज्यू पटक-पटक स्थलगत भ्रमणमा जानुभयो। ईन्जिनियरदेखि सचिवसम्मको ध्यान यसमा उतिकै प्राथमिकताको साथ गयो। निर्माण व्यावसायीले केही कठिनाईको बीचमा पनि काम सम्पन्न गर्ने तहमा पुर्याउनु भयो।

आज सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गर्ने ग्वार्को फ्लाई ओभरको बीचमा ३५ मी. पुल र सातदोबाटो पट्टी १८० मी. र कोटेश्वर पट्टी ३२० मी –याम रहेको नेपाल पहिलो फ्लाई ओभरको निर्माण सम्पन्न भएको दिन आज मलाई विगत लाई सम्झेर अति नै खुशी लागेको छ।

शहरी पूर्वाधारको कोशेढुंगाको रुपमा रहेको र विदेशमा मात्र देखिएको फ्लाई ओभर आज हामी नै प्रयोग गर्ने तहमा पुगेका छौं। नेपाल बन्दैछ हामी सबै सकारात्मक बनौं। विकासका आधुनिक नमुनाहरु नेपालमा प्रयोग गरेर नै देशलाई हामीले चाँडो समृद्धितर्फ लम्काउन सक्छौं। आज एक जनाले देखेको फ्लाई ओभरको सपना पुरा भएको छ। राष्ट्र निर्माणमा एउटा ऐतिहासिक पूर्वाधार निर्माण भएर गर्न सकिन्छ भन्ने मानक स्थापित भएको छ। यसको निर्माणमा लाग्ने सम्पूर्ण व्यक्तित्व धन्यावादको पात्र हुनुहुन्छ।

(ईन्जिनियर थपलिया नेपाल बौद्धिक परिषद्का अध्यक्ष हुनुहुन्छ)