भक्तपुर – भक्तपुरको सिपाडोलमा नेपालकै सबैभन्दा ठूलो तरकारी बजार खुलेको छ । तरकारी बजारको बुधबार नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै हुनुहुन्छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले तरकारी बजार सञ्चालनमा ल्याउनु भएको छ । सूर्यविनायक नगरपालिका–८ सूर्यविनायक, अरनिको राजमार्ग नजिकै रहेको ५० रोपनी जग्गामा प्रसाईँले सञ्चालनमा ल्याउनु भएको हो ।
सूर्यविनायक हरित कृषि थोक बजार नामक कृषिबजार जिल्लाको सूर्यविनायक नगरपालिका-८ आदर्श सिपाडोल क्षेत्रमा छ । भक्तपुरकै मुख्य सूर्यविनायक चोक नजिकै दक्षिण पूर्वमा यो बजार छ । बजारमा दुईवटा द्वारहरू छन् । एउटा अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकबाट करिब दुई तीन सय मिटरपूर्व अरनिको राजमार्गबाटै र अर्काे अरनिको राजमार्गअन्तर्गत आदर्श बस स्टपबाट माथि सिपाडोल जाने मुख्य बाटोमै छन् ।
आधुनिक रूपमा सञ्चालन गरिएको बजारमा सवारीसाधन पनि एकतर्फी रूपमा सञ्चालन गर्ने व्यवस्थान गर्न दुईवटा द्वार राखिएको छ । कृषि बजारमा तरकारी राख्न ल्याउने गाडीहरूको जाम नहोस् भनेर एकतर्फी बाटो कायम गरिएको छ । कृषि बजारभित्रसम्म तरकारी पुयाउन मोटर पुग्ने गरी व्यवस्था मिलाइएको छ ।
सूर्यविनायक हरित तथा कृषि थोक बजारमा मंलगबार पत्रकार सम्मेलन गर्दै व्यवसायी प्रसाईले भन्नुभयो, ‘जे गर्छु स्वदेशमै गर्छु भनेर तरकारी बजार संचालनमा ल्याएको हुँ ।’ २ अर्ब रुपैयाँ भन्दा धेरै लगानी गरेर तरकारी बजार संचालनमा ल्याएको उहाँले बताउनुभयो ।
हाल २२ सय स्टलमा प्रत्यक्ष ४४ सय जनाले रोजगारी पाउने र १० हजार भन्दा धेरै किसान अप्रत्यक्ष फाइदा लिने सक्ने प्रसाईले भन्नुभयो । केही समय अगाडी नै बजार संचालनमा आएको भएपनि कोरोनाको कारणले सहज नभएकाले भोली बुधबार एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजारको उद्घाटन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
बिचौलियाको अन्त्य गर्न र किसानलाई राहत दिन आफूले तरकारी बजार सञ्चालनमा ल्याएको उहाँको भनाई छ ।







प्रतिक्रिया