काठमाडौं– पत्रकार यशोदा अधिकारीले लेख्नुभएको छ, ‘अस्तव्यस्त काठमाडौं महानगरलाई व्यबस्थापन गर्न सक्ने एक मात्र व्यक्ति केशव स्थापित हुन् । निर्वाचन जित्न सक्ने र काठमाडौंका जनताले पत्याएका पनि उनै हुन् । नेकपा एमालेले समृद्ध नेपालको अभियान समृद्ध सहरबाट सुरुवात गर्न उनलाई नै मेयरको उम्मेदवार बनाओस् ।’
२०५४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित स्थापित अहिले पनि भावी मेयरका रुपमा चर्चामा हुनुहुन्छ । हाल प्रदेश सभा सदस्य रहनुभएका स्थापित काठमाडौंमा एमालेको मेयर दौडलमा सबैभन्दा अगाडि हुनुहुन्छ ।
तत्कालिन लोकेन्द्रबहादुर चन्द नेतृत्वको मिलिजुली सरकारले गराएको चुनावमा स्थापित विजयी हुनुभएको थियो । स्थापितले आफ्नो कार्यकालमा माइतीघर विस्तारदेखि काठमाडौंका सडक चौडा बनाउने अभियान चलाउनुभएको थियो ।
काठमाडौंको मेयरमा स्थापितसँगै हालका मेयर विद्यासुन्दर शाक्य, प्रदेश सभा सांसद राजेश शाक्यलगायत चर्चामा हुनुहुन्छ । त्यसो त मेयर पाए संघीय सांसदबाट राजीनामा दिन तयार भएर बस्नुभएको छ, रामबीर मानन्धर ।
एमालेका लागि गठबन्धन प्रतिकूल भइरहेकाबेला स्थापितलाई काठमाडौंबाट जित्ने एकमात्र उम्मेदवारकोरुपमा पनि पार्टीमा हेर्ने गरिएको छ ।
स्थापितले भने आफूले टिकट पाए जितेर देखाइदिने र अरु कसैलाई दिए पनि विजयी गराउने दाबी गर्नुभएको छ ।
काठमाडौंसँगै धरानको मेयरमा फेरि एकपटक मनोजकुमार मेन्याङ्बोको नाम बेस्सरी आएको छ ।
पूर्वमा वामपन्थी गढको रूपमा चिनिएको धरान उपमहानगरमा नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचन प्रतिष्ठाको विषय बनाएको छ ।
एमालेले भने ०७४ असारको नतिजालाई दोहोर्याउँदै आफ्नो पुरानो साख फकाउने चुनावी रणनीति बनाइरहेको छ ।
धरानमा पहिलो पटक २०१५ सालमा आम निर्वाचन हुँदा कांग्रेसका डिट्ठा ज्ञानचन्द्र सरदारले जित्नुभएको थियो । त्यसपछि ०१७ सालमा नगरपालिका घोषणा भएसंगै वामपन्थी उम्मेदवारहरू नै लगातार मेयर भए ।
एक पटक उपमेयर एक पटक मेयर हुँदा कुनै पनि आर्थिक विवादमा नपरेका मेन्याङ्बोको नाम चर्कोरुपमा उठेको छ ।
०४८ मा ध्यानबहादुर राई, २०५४ मा मनोज मेन्याङ्बोले वामपन्थी जितलाई निरन्तरता दिनुभयो । ०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका तारा सुब्बाले जित्दा कांग्रेसका उम्मेदवार तिलक राई दोस्रो हुनुभएको थियो । सुब्बाले २० हजार ९ सय ७५ मत ल्याउँदा तिलक राईले १६ हजार १ सय २ मत ल्याउनुभएको थियो । मेयरमा जितेको एक वर्ष नपुग्दै ०७५ साउन १ गते सुब्बाको निधन भयो ।
०७६ को उपनिर्वाचनमा तिलक राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई हराउनुभयो ।
त्यसबेला काठमाडौंका मेयर केशव स्थापित, हेटौंडाका मेयर डोरमणि पौडेल र धरानका मनोजकुमार मेयाङ्बो चर्चामा हुनुहुन्थ्यो । धरानले अहिलेको स्वरुपमा बदल्न मेन्याङ्बोको देन रहेको बताउने गरिएको छ ।





प्रतिक्रिया