अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवाले ९ गते चुनाव सार्ने प्रस्ताव पठाएका थिए : एमाले अध्यक्ष ओली

देउवाले ९ गते चुनाव सार्ने प्रस्ताव पठाएका थिए : एमाले अध्यक्ष ओली


नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । अध्यक्ष ओलीले शुक्रबार दिउँसो १२ बजे भक्तपुर नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविको मतदान केन्द्रमा गएर मतदान गर्नुभएको हो । मतदानपछि अध्यक्ष ओलीले संवाददाताहरुसित गर्नुभएको कुराकानीको सम्पादित अंश-

प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुरामा शंकाकै बीचमा मतदान गर्नुभएको छ, यसलाई कसरी लिनुहुन्छ ?

उहाँले ९ गते मलाई स्थानीय तहको निर्वाचन पर सारौं भन्ने औपचारिक प्रस्ताव पठाउनुभएको थियो। धाक लगाउने त कुरै भएन। मैले अस्वीकार गरेर देशलाई द्वन्द्वतिर नलैजानोस्, अलोकतान्त्रिक बाटो नहिँड्नोस् भनेर उहाँलाई अलिक राम्रैसँग खबर पठाएको थिएँ। र, निर्वाचन रोक्ने कुरामा सहमति हुन नसकेपछि र कानूनले बाध्यता भएपछि उहाँहरु तयार हुनुभएको हो। गफै नगरे हुन्छ।

अस्ति ९ गतेसम्म। आज ३० गते भो, अस्ति ९ गतेसम्म पनि प्रधानमन्त्री शेरबहादुर देउवाजीले मसँग प्रस्ताव पठाइराख्नु भएको थियो। अहिले शंकाका बीचमा आज त आफैंले हाल्नुभयो होला नि भोट भनेर भन्नुपर्ने। शंका होइन कि स-प्रमाणको कुराबाहेक मैले यो कुरा अहिलेसम्म भनेको थिइनँ। यस्ता राजनीतिक सम्वादका कुराहरु सार्वजनिक रुपमा भनिँदैनन्। तर, अब निर्वाचन सम्पन्न हुने स्थितिमा पुग्दाखेरि त यो भन्दाखेरि पनि केही फरक नपर्ने भएको हुनाले भन्दा पनि हुन्छ।

त्यसकारण, उहाँहरुको नियत हामीले देख्या छौँ, गठबन्धनका अनेक नेताले आगामी चैत्रमा मात्रै निर्वाचन गर्नुपर्छ भनेको सबैले सुनेकै हो। उहाँहरुको प्रयास यतिसम्म कि मुद्दामा गएर हुन्छ कि, झगडा गरेर हुन्छ कि, अनेक त गर्नै भएको हो नि। हामीले खुरुखुरु निर्वाचन गराउन लागेका थियौँ भन्ने ? यसका लागि त हामीले थुप्रै पापड बेल्नुपरेको थियो।

चुनावका दिन कतिपय ठाउँमा झडपका घटना पनि भइरहेका छन्, यसलाई कसरी लिनुहुन्छ?

गठबन्धनबाट धाँधली भइराखेको छ। यो अन्त्यन्तै लोकतान्त्रिक संस्कार र मूल्य मान्यता र व्यवहारको अभाव हो। चुनावभन्दा अगाडि पनि उहाँहरुका त्यस्तैखालका रवैयाहरु थिए। घरैमा गएर आक्रमण गर्नेखालका रवैयाहरु थिए। यो दुःखद कुरा हो।

लोकतन्त्र कुनै एउटा पार्टीले जित्छ कि जित्दैन भन्ने होइन, लोकतन्त्रले जित्नुपर्छ। हामीले लोकतान्त्रिक अभ्यासलाई स्वस्थ्य लोकतान्त्रिक परिपाटी र तरिकाबाट अगाडि बढाउनुपर्छ। तर, त्यस ठाउँमा जसरी पनि जित्नुपर्छ, अरु कुरै छैन भनेर मानिसहरुलाई त्यस ढंगले सिकाउने गरेका छन्। ०६४ को निर्वाचनदेखि हामीले कसरी बुथ क्याप्चर गरेर जितेका थियौँ, अहिले त्यसो गरेर बिग्रियौँ भन्ने नेताहरुको अभिव्यक्ति तपाईहरुले सुन्नुभएको छ। यही स्कुलिङबाट कार्यकर्ताहरूलाई प्रशिक्षण गर्न खोज्दा अलिकति अवाञ्छनीय खालका घटनाहरु भएका छन्। यो उपयुक्त होइन।

तर, यी सबै कुराका बावजुद देशभरि उत्साहजनक मतदान भएको छ। आम रुपमा देशभरि भन्ने हो भने केही ठाउँहरुमा बाहेक शान्तिपूर्ण ढंगले नै मतदान भएको देखिन्छ। खासगरी नेपाली कांग्रेस माओवादीका तर्फबाट विभिन्न ठाउँमा आक्रमण भएको देखिन्छ। त्यस्तो उचित होइन। अगाडिदेखि नै त्यस प्रकारका घटनाहरु देखिन्छन्, त्यो विल्कुलै उचित होइन। मैले त्यस्तो रिपोर्टहरू विभिन्न ठाउँमा पाइरहेको छु।

यस निर्वाचनले अत्यन्त अपेक्षित परिणाम ल्याउँछ भन्ने मैले विश्वास गरेको छु। जनअपेक्षा अनुसारको परिणाम। यसै परिणामसँग भयभित भएर कतिपयले अवाञ्छित तौरतरिका र क्रियाकलापहरू अपनाएको देखिन्छ। तर, त्यस्ता क्रियाकलापले जनताको विजयलाई रोक्न सक्दैन।

गठबन्धन र एमालेका बीच कस्तो खालको मत परिणाम आउला?

एमाले एकातिर एउटा पार्टी, एउटा पक्षको रुपमा छ। गठबन्धन अर्कातिर अर्को पार्टी र पक्षका रुपमा छ। अब मूलतः दुई दलीय प्रणालीतर्फ देश गएको देखिन्छ। आखिर अब कांग्रेस पनि एक्लै चुनाव लड्ने स्थितिमा रहेन। वडासम्म पनि एक्लै लड्ने हिम्मत रहेन। भने, अब क्रमशः दुई दलीय प्रणालीतिर यो जान बाध्य भो।

किनभने, एमाले एउटा दल र अरु मिलीजुली एउटा दल। यसखालको एउटा अवस्था चाहिँ बन्ने भो। हामीलाई उहाँहरुले एउटै दल बनाएर आए पनि वा विभिन्न दल भनेर कच्याङ कच्याङ गर्दै हामीसँग संयुक्त भएर मुकाविला गरे पनि केही फरक पर्दैन। हामी आफ्नो तयारीमा छौँ। एउटा दल, एउटा चुनाव हामी आफ्नो तरिकाले लड्छौँ।

विजयका बारेमा अब मैले मतदाता प्रभावित गर्नु पनि छैन, केही गर्नु पनि छैन। अब लगभग बाक्सामा मत परिसक्या छ। अलिअलि पर्न बाँकी छ। ती मत पनि पर्ने नै छन्। त्यसकारण अब मैले केही भनिरहनु नै पर्ने छैन। परिणाम तपाईहरुलाई बताइदिऔँ, नेकपा एमालेको पक्षमा आउँछ।

त्यो भनेको प्रतिशतको हिसाबले?

अब परिणाम आउनै दिउँ न। राम्रो पर्सेन्टेजको हिसाबले। अर्थात एउटा कुराको निश्कर्ष तपाईहरुलाई सुनाइदिऔँ न, पाँच दलभन्दा धेरै बढी एमालेले एक्लै ल्याउँछ।

अब खड्गो टर्यो?

खड्गो छँदै थिएन। कसको खड्गो भनेको ? एमालेलाई खड्गो छँदै थिएन।