अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सङ्घीयता बलियो बनाउन कर्मचारीको महत्त्वपूर्ण भूमिका हुन्छ: मन्त्री न्यौपाने

सङ्घीयता बलियो बनाउन कर्मचारीको महत्त्वपूर्ण भूमिका हुन्छ: मन्त्री न्यौपाने


तनहुँ-सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सङ्घीयता बलियो बनाउन कर्मचारीको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ।

तनहुँको देवघाट गाउँपालिकाले आज आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा मन्त्री न्यौपानेले सङ्घीयता सुदृढ र बलियो बनाउन कर्मचारीको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयो।

मन्त्री न्यौपानेले सङ्घीय निजामती ऐन चालु संसद् अधिवेशनमा पारित हुने बताउनुभयो। मन्त्री न्यौपानेले मन्त्रालयले कर्मचारी सरुवासम्बन्धी मापदण्ड बनाउँदै गरेको बताउँदै गुनासो सुनुवाइ संयन्त्र स्थापना गरिसकेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, ‘निजामती ऐन आइसकेपछि धेरै समस्या समाधान हुनेछन्। त्यसलाई छिटो जारी गर्नुपर्छ भनेर सरकार त्यही ढङ्गबाट अगाडि बढेको छ।’

मन्त्रालयका छ वटा महाशाखा र १९ वटा शाखामा भइरहेका समस्याको बारेमा आफूले जानकारी लिएको बताउँदै त्यसलाई क्रमशः समाधान गर्दै लगिने मन्त्री न्यौपानेले बताउनुभयो। तीन तहको सरकारबीच समन्वय र सहकार्यबाट मात्रै देश विकास सम्भव रहेको बताउँदै मन्त्री न्यौपानेले सङ्घीयता सुदृढ गर्नुको विकल्प नरहेको चर्चा गर्नुभयो। देशका सबै स्थानीय तहमा भइरहेको कर्मचारीको समस्या समाधानका लागि आफू प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।

मन्त्री न्यौपानेले देवघाट ऐतिहासिक एवं धार्मिक गन्तव्यस्थल भएकाले यसको विकासका लागि सङ्घीय सरकारले ध्यान दिने प्रतिबद्धता जनाउनुभयो। त्यसक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले स्थानीय तहमा कर्मचारीको अभाव हुँदा काम गर्न समस्या भइरहेको बताउनुभयो।