अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जब विष्णु रिमालका नाममा अर्कैले भोट खसालिदिए…

जब विष्णु रिमालका नाममा अर्कैले भोट खसालिदिए…


आज उपनिर्वाचनको दिन, वैशाख १० गते । यो उपनिर्वाचनसँगै यस सिजनको निर्वाचन प्रक्रिया सकिन्छ । 

फर्केर हेर्दा स्थानीय चुनावलाई छोडेर उपनिर्वाचनसहित केन्द्रीय संसद्को निर्वाचनमा मैले अहिलेसम्म १० चोटि भाग लिएछु । 

म नुवाकोटमा जन्मेको मानिस हुँ तर आम निर्वाचनमा भने मैले सधैँ काठमाडौँको मतदानमा भाग लिएँ । एकचोटी भोट हाल्न जाँदा मेरो नाममा अर्कैले बिहानै भोट खसाली दिएकोले गज्जबको लफडा परेको अनुभव पनि छ।

मेरो ‘चुनाव–अनुभव’ नाबालिग हुँदाको हो, जतिखेर मेरा पिताजी गाउँ–पञ्चायतको वडाध्यक्षमा उठ्नु भएको थियो । त्यतिखेर पनि पञ्चहरुका फरक–फरक प्यानल हुन्थे । मेरा पिताजीको चुनाव चिन्ह रातो रङ्ग थियो, पञ्चायत घरको अँध्यारो कोठामा राखिएको भोट खसाल्ने बाकसमाथि चिन्न सजिलो होस् भनेर अबिर राखिएको थियो । 

मेरा ‘बा’का प्रतिद्वन्द्वी चुनाव चिन्ह हरियो रङ्ग थियो– ढ्वाँग काँधमा हालेर अघिअघि हिँडेका प्रहरीका पछिपछि उनी ‘हरियो रंग भरियो’ भन्दै कराएको म अहिले पनि संझन्छु । यद्यपी मेरा पिताजीले त्यो चुनाव जित्नु भयो र २०५४ को निर्वाचनसम्म वडाअध्यक्ष जितिरहनुभयो ।

चुनावमा मैले सीमित मानिसले पाउने केही मौका पनि पाएको छु– राजतन्त्र फ्याँकेपछि गणतन्त्र नेपालको पहिलो राष्ट्रपति चुन्ने मौका । आफूले हालेको मत खेर नजाँदा औधी खुसी लाग्दो रहेछ । २०६५ जेठ १५ गते राती राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गर्न हस्ताक्षर गर्ने ६०१ जनाभित्र मेरो पनि हस्ताक्षर छ ।

सम्झँदा रमाइलो लाग्छ, मैले सचेतना पूर्व संलग्नता जनाएको राष्ट्रिय निर्वाचन सम्पन्न भएको आज १० दिन कम ४३ वर्ष पुगेछ । सुधारिएको पञ्चायत कि बहुदलीय व्यवस्था भन्ने २०३७ साल वैशाख २० गतेको जनमत संग्रहमा म आजभोलि भन्ने गरिने ‘नो–भोट’को पक्षमा थिएँ । धेरै बुझेर हैन अल्प बुझेर, त्यस अभियानमा सक्रिय थिएँ । नो भोट, मतदान पनि हैन, बहिस्कार पनि हैनको अवस्था हो । म भरखर भरखर जोडिएको पार्टीले त्यो चुनावमा ‘भाग नलिने– भाग लिने … ’ लरबर नीति लिएकोले हामी फुच्चे’हरु पनि लरबर लरबर भएका थियौं । 

यी सबै घटनारपरिघटनाले हामीलाई आजको परिवर्तित समयमा ल्याइ पुर्‍याएको हो । केही भएन भन्नेप्रति त्यसैले मेरो विनम्र असहमति रहने गरेको छ। चाहेजस्तो परिवर्तन किन भएन भन्ने प्रश्नमा भने मेरो पनि सहमति छ ।

मलाई लाग्छ मतदान, केवल एक भोट कसैलाई हालिदिने प्रक्रिया मात्र हैन, आफ्नो तर्फबाट व्यवस्थापिकामा आवाज उठाउने र कार्यपालिकामा काम गर्ने सच्चा प्रतिनिधि छान्ने अवसर हो । यो पाँच वर्षसम्म राज्यको नेतृत्व निश्चित गर्ने, परिवर्तनलाई संस्थागत गर्ने र समृद्धिको आधार खडा गर्ने माध्यम पनि हो ।