अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

उपमहासचिव रिमालले भन्नुभयो–धरानमा आउँदा श्रम गरौँला, वैरभाव राख्नुपर्ने कुनै कारण छैन 

उपमहासचिव रिमालले भन्नुभयो–धरानमा आउँदा श्रम गरौँला, वैरभाव राख्नुपर्ने कुनै कारण छैन 


काठमाडौँ–नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आफू धरान आउँदा मौका मिले श्रम गर्ने बताउनुभएको छ । हिजो सामाजिक सञ्जालमा लेख्दै उहाँले मौका मिले धरानमा श्रम गर्ने बताउनु भएको हो । 

उपमहासचिव रिमालले भन्नुभएको छ, ‘हर्कजी दिनरात जनतालाई श्रममा लगाई पानी खुवाउने भनेर लाग्नु भएको छ । सामाजिक सञ्जालबाट श्रमदान गर्न आउन भन्नु भएको रहेछ । म श्रमिक आन्दोलनबाट नै राजनीतिमा आएको मानिस हुँ । मेरो जीवनको ऊर्जाशील ३० वर्ष श्रमिकहरूको हकहित र सुरक्षाका काममा बितेको छ । म पूर्व आउँदा धरानमा पनि आउन सक्छु, मौका मिले त्यहाँ पनि श्रम गरौँला । मौका नमिले पनि म श्रमबाट टाढा छैन ।’

केही दिनअघि एमाले निकट अखिल नेपाल महिला संघको केन्द्रीय कमिटीको बैठकमा हर्क साम्पाङबारे बोलेको भिडियो भाइरल भएपछि रिमालले आफ्नो कमजोरी स्वीकार्दै आफू पनि श्रमिक आन्दोलनबाटै राजनीतिमा आएको बताउनुभएको हो । 

उपमहासचिव रिमालले हर्क साम्पाङ र बालेन साहप्रति वैरभाव राख्नुपर्ने कुनै कारण नभएको बताउनुभएको छ ।  

‘हर्क साम्पाङ र बालेन साह जस्ता साथीहरू स्थानीय सरकारको नेतृत्वमा आउनु भएको छ । केही गर्छु भन्ने युवाहरू, चाहे मेरा पार्टीका हुन् वा स्वतन्त्र, उहाँहरूप्रति वैरभाव राख्नुपर्ने कारण नै छैन । नजिकबाट मलाई चिन्ने जो कोहीलाई थाह छ– फ्रण्टलाईन, प्रचार, वाहवाही भन्दा पर हदैसम्म काममा जोतिन चाहने मान्छे हुँ । त्यसैले म अहिले पनि भन्छु, यो देश बनाउन काममा  लिप्त भएर लाग्नै पर्छ, एक प्रकारले भन्ने हो भने हामी “बहुलाउनै” पर्छ’,उहाँले भन्नुभयो । 

उपमहासचिव रिमालले देश बनाउन निर्लिप्त भएर लाग्नुपर्नेमा समेत जोड दिनुभएको छ ।