अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेलाई ८४ मा बहुमत ल्याउन असम्भव छैन: प्रधानमन्त्री ओली

एमालेलाई ८४ मा बहुमत ल्याउन असम्भव छैन: प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले २०८४ को निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने उद्देश्य राखेको र त्यो पूरा भएरै छाड्ने दाबी गर्नुभएको छ।

सोमवार काठमाडौंमा नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौं महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले आफूहरु मिसन २०८४ को उद्देश्य लिएर हिँडेको भन्दै एकल बहुमत ल्याउने उद्देश्य लिएको बताउनु भयो। उहाँले नेकपा एमालेका लागि एकल बहुमत सम्भव रहेको बताउनुभयो।

‘हामीले मिसन ८४ को उद्देश्य लिएका छौं। एकल बहुमत ल्याउने उद्देश्य लिएका छौं। यो असम्भव छैन। यो विल्कुलै सम्भव छ,’ एमाले अध्यक्ष समेत रहेका ओलीले भन्नुभयो, ‘कसैलाई पनि बहुमत ल्याउन नदिने प्रणाली हामीकहाँ छ। तर, हामीले धेरै सिट ल्यायौं भने कसैलाई बहुमत ल्याउन नसक्ने परिपाटीमा पनि सकिन्छ।’

समानुपातिक प्रणालीले कसैलाई पनि एकल बहुमत ल्याउन नदिने भए पनि अब यो प्रणाली रोजिसकेपछि कायम रहने बताउनुभयो। यही प्रणालीभित्र बहुमत ल्याउनेगरी आवश्यक तयारी थाल्न निर्देशन दिनुभयो।

नेकपा एमाले हजार रुपैयाँ गोजीमा हालिलिएर कुदाउन ल्याएको जमात जस्तो नभएको बताउनु भयो। अराजकता सदैव आफूहरुको शत्रु भएको बताउनु भयो ।

समानुपातिक प्रणाली साधारणतया हंग पाल्र्यामेण्टको प्रणाली हो। यसले कसैको बहुमत आउँदैन, साधारणतया। साधारणतया मात्रै होइन, हामीले यो प्रणाली चुनिसकेका छौँ, प्रणाली यही कायम रहन्छ। यसै प्रणालीभित्र हामीले बहुमत ल्याउनुपर्नेछ। यो कष्टसाध्य छ, चुनौतिपूर्ण छ, तर पनि यो काम नेकपा एमालेका लागि सम्भव छ। त्यसकारण हामीले मिसन २०८४, एमालेको एकल बहुमत ल्याउने गरीको तयारी यसमा हामी जुटिरहेका छौँ।’

प्रधानमन्त्री ओलीले नेकपा एमाले जस्तो राष्ट्रिय शक्तिलाई एकल बहुमतको निर्णयात्मक शक्तिका रुपमा देशलाई सुशासन र न्यायको बाटोमा अघि बढाउने सन्दर्भमा जुनसुकै निर्णय गरेर अघि बढ्नसक्ने बनाउनुपर्ने बताउनु भयो ।