अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै


काठमाडौँ-विपक्षी राजनीतिक दलको अवरुद्धपछि आइतबार स्थगित भएका संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरू एमाले, रास्वपा र राप्रपाका सांसदहरूले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम गरेको, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको र अदालतको फैसलाको पूर्णपाठ नआउँदै कैदीलाई आममाफी दिएको विषयमा विरोध जनाउँदै अवरुद्ध गरेका थिए । बैठक सञ्चालनको प्रयास विफल भएपछि सूचना टाँस गरेर सोमबारसम्मका लागि बैठक सारिएको थियो । 

अवरुद्ध संसद् खुलाउन सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतक र सचेतकसँग अनौपचारिक छलफल गरेपनि उनीहरूसँग कुरा नमिलेपछि सोमबार बिहान ११ बजे बस्ने गरी समय निर्धारण गरिएको हो । 

यस्तै नियमित कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक पनि आइतबार स्थगित भएको थियो । आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम भएको र प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको भन्दै बैठक अवरुद्ध गरेको हो ।