अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपालको चेतावनी: बजेट यथास्थितिमा पास भए, सरकार ढल्छ

माधव नेपालको चेतावनी: बजेट यथास्थितिमा पास भए, सरकार ढल्छ


काठमाडौं-नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट यथास्थितिमा पास भए वर्तमान सत्ता गठबन्धनको सरकार ढल्ने आशय व्यक्त गर्नु भएको छ।

आइतबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले बजेट यथास्थितिमा पास भए सरकार ढल्ने आशंका व्यक्त गर्नुभएको हो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘बजेटप्रति साथीहरु सबै असन्तुष्ट नै हुनुहुन्छ। अझै आक्रोशित हुनुहुन्छ, के हुन्छ भन्न सकिँदैन। यो विषय मरेको छैन तर यही स्थितिले जाने हो दुर्घटनातिर जान्छ। सरकार दुर्घटनामा जाने निश्चित छ।’

उहाँले बजेटमा सबैजना असन्तुष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीको लचकता नदेखाए सरकार दुर्घटनामा जाने चेतावनी दिनु भयो।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री र अर्थमन्त्रीको ध्यान जानुपर्छ, चित्त बुझाउनुपर्छ, बेठिक भएको कुरालाई करेक्शन गर्नुपर्छ। मेरो पनि प्रयास छ, सबैले लचकता देखाउँ। यदि लचकता देखाउदैन भने सरकार ढल्न सक्छ।’

बजेट तीन जिल्ला (गोरखा, डडेलधुरा र नुवाकोट) केन्द्रित भएको बताउँदै आएका छन्। साथै, पार्टीले पनि बजेट यथास्थितिमा पास गर्न नदिने अडान लिइरहेको छ।

नेकपा (एकीकृत समाजवादी) दुई मन्त्रालयसहित सरकारमा सहभागी छ। सत्तापक्षकै सांसदहरुले बजेट आवश्यकताअनुसारको नभएको टिप्पणी गर्दै आइरहेका छन्।

अध्यक्ष नेपालले भारतीय नयाँ संसद भवनमा अखण्ड भारतको नक्सा राख्ने कुरालाई भारतले नेपाली मनोभावना बुझ्न जरूरी रहेको बताउनु भयो।

उहाँले कम्युनिष्ट नेता प्रधानमन्त्री पुष्पकमल दाहाल पशुपति जानुभयो नि ? भन्ने सञ्चारकर्मीको प्रश्नमा कोही आस्थाले र कोही चर्चा कमाउनको लागि मन्दिर जाने गरेको बताउनु भयो।

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहालसहितको मन्त्रिमण्डल पशुपतिनाथ दर्शनका लागि जानु भएको थियो ।