अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता 

 राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र चीनको जनकंग्रेसका अध्यक्ष बिच भेटवार्ता 


काठमाडौँ-चीनको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लिजीबीच भेटवार्ता भएको छ । 

अध्यक्ष तिमिल्सिना र जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लिजीबिच ग्रेट हल अफ पिपुल्स  बेइजिङमा सोमबार साँझ भेटवार्ता भएको हो । 

भेटमा अध्यक्ष तिमिल्सिनाले संस्कृति र परम्पराहरुले बलियोरुपमा जोडेको नेपाल र चीनबीच घनिष्ठ सम्बन्ध रहिआएको चर्चा गर्दै आगामी वर्षहरुमा नेपाल र चीनबीचको सम्बन्ध थप प्रगाढ बन्दै जाने कुरामा विश्वस्त रहेको बताउनुभयो । 

अध्यक्ष तिमिल्सिनाले नेपालले चीनसँगको सम्बन्धलाई सधैँ उच्च महत्त्व र प्राथमिकता दिँदै आएको भन्दै नेपाल सधैँ एक चीन नीतिको पक्षमा रहेको बताउनुभयो ।  पछिल्ला दिनहरूमा नेपाल र चीनको विधायीकी सम्बन्ध विस्तार हुँदै गएको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्ध लगायत विधायिकाबीचको सम्बन्धलाई समेत थप मजबुत बनाउनुपर्ने बताउनुभयो । 

चिनिया ऋण सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनले नेपालको पर्यटन बजारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने भन्दै अध्यक्ष तिमिल्सिनाले चीनका विभिन्न सहरबाट सोझो उडान हुने विश्वास व्यक्त गर्नुभएको थियो । 

नेपाल चीनबीच केरुङ/रसुवागढी, हिल्सा/पुराङ र तातोपानी/झाङमु नाकाहरू मार्फत दुईतर्फी व्यापार सुचारु भएको उल्लेख गर्दै आगामी दिनमा मुस्ताङको कोरल्ला लगायतका नाकाहरू सञ्चालन हुने पनि विश्वास  व्यक्त गर्नुभयो । नेपालबाट तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटी जस्ता उत्पादनहरूलाई चीनको भन्सारको सामान्य प्रशासनमा सूचीकृत गर्न सहयोगको लागि अनुरोध पनि गर्नुभयो ।  

भेटमा चीनको राष्ट्रिय जन कंग्रेस स्थायी समितिका अध्यक्ष चाओ लिजीले भ्रमणका क्रममा नेपाली पक्षले उठाएका विषयलाई चीनले गम्भीरतापुर्वक लिने र कार्यान्वयन गर्दै जाने आश्वासन दिनुभएको थियो । उहाँले चीनको छेन्दुबाट पोखरा उडानका लागि चीन तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । पोखरा विमानस्थलको अवस्था र नेपाल सरकारले आवश्यक सबै तयारी सकेको अवस्थामा आगामी जुन २१ देखि छेन्दु पोखरा सिधा उडान गर्न चीन तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो ।

अध्यक्ष तिमिल्सिना ९ सदस्यी नेपाली संसदीय प्रतिनिधी मण्डलको नेतृत्व गरेर चीन भ्रमणमा रहनुभएको छ ।  तिब्बतमा जुन १६ र १७ मा आयोजना हुने एक्स्पोलाई अध्यक्ष तिमिल्सिनाले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्ने कार्यक्रम छ ।