अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समाजवादी मोर्चा गठनसँगै ‘किचकिच’ बीजारोपण भइसक्यो : उपमहासचिव रिमाल

समाजवादी मोर्चा गठनसँगै ‘किचकिच’ बीजारोपण भइसक्यो : उपमहासचिव रिमाल


काठमाडौँ–नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले समाजवादी मोर्चा गठनसँगै ‘किचकिच’ पनि बीजारोपण भइसकेका बताउनुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै उहाँले एकीकृत समाजवादीका नेताहरूले घुमाउरो यात्रा तय गरेको पनि बताउनुभयो । 

‘पार्टी भित्र होस् वा बाहिर, प्रचण्डजी सधैं एउटै प्रयासमा रहेको देखिन्छ–एकै ठाउँमा रहेकाहरू विपरीत दिशामा उभिएर चर्का प्रतिस्पर्धी बनुन् । तिनीहरू किचकिच गरिरहुन् र तिनीहरूलाई जोड्ने ‘फ्याक्टर’ चाहिँ आफैँ हुन पाउँ ! पार्टीभित्र होस् वा सरकारमा “प्रचण्ड औचित्य” यसैगरी स्थापित छ । त्यसैले होला मोर्चा गठनसँगै ‘किचकिच’को पनि बीजारोपण भइसकेको देखिन्छ । अब के होला, त्यो भविष्यले बताउला’, उहाँले लेख्नुभएको छ,’रह्यो नेकपा (एस)– त्यहाँभित्र रहेका ‘निलिन नचाहने’हरू अध्यक्ष माधव नेपालका “समस्या” हुन् । त्यसैले, प्रचण्डद्वारा निलिन तयार एसका अध्यक्ष र समर्थकहरुले निलिनु अघिको अलिक घुमाउरो यात्रा तय गरेको देखिन्छ ।’ 

उपमहासचिव रिमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मिल्ने या निल्ने समेत स्मरण गराउनुभएको छ । 

‘चौसठ्ठी सालतिर माओवादी अध्यक्ष प्रचण्डको एउटा भनाइ चर्चित थियो– “मिल्ने या निल्ने !” यो भनाई एमाले र अरू स–साना बाम समूह लक्षित थियो । त्यतिखेर निलिन तयार नारायणकाजीजीको पार्टी र सो सरहका स–साना ग्रुपलाई निलियो । नमिल्ने र ननिलिइएका विरुद्ध उपद्रो मच्चाइयो’, उहाँले लेख्नुभएको छ, ‘हिजो एउटा मोर्चा बनेछ । प्रचण्डजीको आशय पहिलेजस्तै आयो– ०७५ सालको बाटोबाट हैन, यो बाटोबाट मिल्ने। मोर्चामा रहेकाहरू एउटै गठबन्धनमा छन् । मोर्चा, गठबन्धनमा रहेका अरू कसैका विरुद्ध हो कि भन्ने प्रश्नमा “गठबन्धनका सहयात्री विरुद्ध हैन” भनिएको छ । अझ स्पष्ट पार्दै “यो कसैका विरुद्ध पनि हैन” भनिएको रहेछ। विरुद्धमा नभए पक्षमा त हुनुपर्ने ! तर मोर्चामा आउन मरिहत्ते गर्ने बाबुरामहरु आउट हुनुहुन्छ, अर्थात् उहाँहरु ‘कसैकसैको’ चाहिँ पक्षमा हुनुहुन्न ।’